फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा ६९ वटा 'स्मार्ट' शौचालय निर्माण हुँदै

(GMT+08:00) 2019-03-29 14:03:42

काठमाडौं महानगरपालिकाले राजधानीका ६९ वटा ठाउँमा 'स्मार्ट' शौचालय बनाउने भएको छ। विभिन्न ठाउँमा सार्वजनिक शौचालयको माग आएपछि भएका पुराना व्यवस्थित गर्नुका साथै थप नयाँ बनाउन लागेको महानगरपालिकाले जनाएको सेतोपाटी अनलाइनले लेखेको छ।

महानगरभित्र ५८ वटा सार्वजनिक शौचालय छन्। ती अत्यन्त फोहोर र अव्यवस्थित रहेकाले सर्वसाधारणको सुविधाका लागि नयाँ पूर्वाधार थपिने महानगर प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो।

यसबाहेक ६९ वटा ठाउँमा सुविधाजनक नयाँ शौचालय निर्माण गरिने उहाँले बताउनुभयो। महानगरले चालू सार्वजनिक शौचालय सुधार तथा नयाँ निर्माण गर्नुपर्ने संख्या, स्थान र नमूनाबारे अध्ययन गर्न उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा टोली बनाएको थियो।

उक्त टोलीले नयाँ शौचालय निर्माण गर्न ६९ वटा ठाउँ पहिचान गरेको हो।

पहिलो चरणमा टेकु चोक, सानेपा पुल, कालिमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगन्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरीमा निर्माण गर्न सिफारिस गरिएको छ।

त्यस्तै, गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा पनि पहिलो चरणमै निर्माण गर्ने योजना छ। बाँकी ठाउँमा दोस्रो चरणामा निर्माण गरिनेछ।

महानगर प्रवक्ता डंगोलका अनुसार नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुनेछन्।

हरेक सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुनेछ। पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुष र अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने उहाँले जानकारी दिनुभयो।

अध्ययन टोलीले तय गरेको डिजाइनअनुसार यी शौचालयमा स्वचालित बत्ती जडान गरिनेछ, जुन मान्छे छिर्दा बल्छ र निस्कँदा आफैं निभ्छ।

शौच सकिएपछि सफाइ निम्ति पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ। हात धुन साबुन र पानीको पनि व्यवस्था गरिनेछ। चिसो हात सुकाउन विद्युतीय हिटर राखिनेछ। त्यस्तै, शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ।

महानगरको डिजाइनअनुसार यी 'स्मार्ट' शौचालयमा प्रयोगकर्ताले मोबाइल एप र 'अटोमेटिक बिलिङ मेसिन' बाट पैसा तिर्न सक्नेछन्। शौचालयमा डिजिटल सूचना राखिनुका साथै बाहिर सिसिटिभी क्यामरा जडान गरिनेछ।

सिसिटिभी क्यामरा राख्नुपर्ने कारणबारे जानकारी दिँदै प्रवक्ता डंगोलले भन्नुभयो, 'अहिले सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा प्रयोगकर्ताहरूले लापरबाही गरेको भेटियो। सरसफाइको जिम्मेवारी लिएकाहरूले पनि राम्ररी काम गरेको पाइएन। दुवै पक्षलाई निगरानी गरेर सरसफाइमा चनाखो राख्न सिसिटिभी जडान गर्न लागेका हौं।'

शौचालयमा हुनसक्ने दुर्व्यवहार, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण निम्ति पनि सिसिटिभी आवश्यक ठानिएको उहाँले बताउनुभयो। खासगरी रातको समय यस्ता सार्वजनिक शौचालय प्रयोग गर्नु असुरक्षित पाइएको छ।

महानगरले शौचालय निर्माण गर्ने ठाउँ वरिपरिको वातावरण पनि सफासुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ। यसअन्तर्गत प्रत्येक शौचालय छेउमा कफीसप सञ्चालन गरिनेछ।

'शौचालय भन्नेबित्तिकै फोहोरी ठाउँ हो भन्ने आमधारणा बनेको छ। हामी यसलाई गलत साबित गर्न चाहन्छौं,' प्रवक्ता डंगोलले भन्नुभयो, 'शौचालय वरिपरि सानो पार्क र व्यवस्थित कफीसप बनाउँछौं, ताकि मान्छेलाई त्यो ठाउँ नजिक हिँड्दा नाक छोप्ने अवस्था नहोस्।'

'अहिलेका सार्वजनिक शौचालयहरूको अवस्था हेर्नुस् त। टाढैबाट गन्धले नाक छोप्नुपर्छ। अब बन्ने शौचालयहरू दुर्गन्धित, फोहोरी र अव्यवस्थित हुँदैनन्। चालू शौचालयलाई पनि सुधार गरेर सुविधासम्पन्न बनाउँछौं,' उहाँले भन्नुभयो।

महानगरले नयाँ शौचालय निम्ति ६ वटा डिजाइनमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो। ठाउँ हेरेर डिजाइन छनौट गरिनेछ। धेरै जग्गा भएको र कम जग्गा भएको ठाउँलाई डिजाइन फरक छ। योजनाअनुसार फराक ठाउँमा दुई/तीन कोठे शौचालय बन्नेछन् भने सानो ठाउँ एक कोठे बन्नेछन्। सम्पदा क्षेत्रका लागि सम्पदामैत्री शौचालय बनाउन छुट्टै डिजाइन तयार पारिएको छ। सम्पदा क्षेत्रको बनोटसँग मिल्दोजुल्दो संरचनाको शौचालय बनाए त्यहाँको स्वरूप नबिग्रिने उहाँले बताउनुभयो।

महानगरले यो वर्षभित्रै चालू शौचालयहरू व्यवस्थित गर्ने र २०७६ सालभित्र नयाँ निर्माण सक्ने लक्ष्य लिएको छ। यसको निम्ति बजेट अभाव नभए पनि विभिन्न निजी तथा गैरसरकारी संस्थाहरू सहयोग गर्न इच्छुक रहेको डंगोलले बताउनुभयो।

'हामी आफैं बनाउन सक्छौं, बजेटको समस्या छैन,' उहाँले भन्नुभयो, 'निजी र सार्वजनिक साझेदारीको मोडलमा निर्माण गर्नेबारे पनि छलफल भइरहेको छ।'

नेपाल आयल निगमसँगको साझेदारीमा हाल पेट्रोल पम्प भएका ७२ वटा ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न सकिने विकल्पमाथि छलफल भइरहेको उहाँले बताउनुभयव। यस्तै विभिन्न व्यापारिक कम्पनीको प्रयोजन र सहयोगमा बनाउन सकिने योजना पनि छ।

नयाँ बनाउनुभन्दा सञ्चालनमा रहेका शौचालयलाई सुविधाजनक बनाउनु महानगरको निम्ति चुनौती हुने देखिन्छ। यी शौचालय दुर्गन्धित, अँध्यारा र आकाशे पानीमा निर्भर छन्। महिला र अपांगता भएका व्यक्तिलाई प्रयोग गर्न सहज छैन।

'असुविधा र असुरक्षाका कारण महिला र अपांगता भएकाहरूले सार्वजनिक शौचालय एकदमै कम प्रयोग गरेको पाइएको छ,' प्रवक्ता डंगोलले भन्नुभयो, 'यो अवस्थामा सुधार ल्याउनु हाम्रो निम्ति चुनौती हो।'

जानकारी तथा लेखहरु