फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले चीनलाई उपहार दिएको 'मितिनी' र 'सोल्टी' गैँडा शाङहाईमा सार्वजनिक

(GMT+08:00) 2019-03-30 13:51:18

नेपालले गत अगस्टमा चीनलाई उपहारका रूपमा दिएको जोडी गैंडा सात महिनापछि सार्वजनिक गरिएको छ। गत शनिबारदेखि साङहाईको पुतोङस्थित वन्यजन्तु पार्कमा ती एकसिंगे गैंडा जोडीलाई सर्वसाधारणका लागि प्रदर्शमा राखिएको नागरिक अनलाइनले लेखेको छ। नेपालले चीनलाई गत जुलाई र अगस्टमा दुई जोडी गैंडा उपहार दिएको थियो। त्यसमध्ये पहिलो चरणमा उपहार दिएको 'रुपसी' र 'भद्र' नामक जोडी गैंडालाई चीनको दक्षिणमा पर्ने क्वाङतोङ प्रान्तमा राखिएको छ। यो जोडीलाई अहिलेसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन। दोस्रो चरणमा नेपालले उपहार दिएको 'सोल्टी' र 'मितिनी'लाई साङहाईमा सार्वजनिक गरिएको हो।

चीनमा एकसिङे गैंडा सर्वसाधारणका लागि प्रदर्शन गरिएको यो पहिलोपटक हो। चीनका विभिन्न चिडियाघरमा दुईसिङे गैंडा भए पनि एकसिङे गैंडा थिएनन्। 'मितिनी' र 'सोल्टी'लाई सार्वजनिक गरेपछि साङहाईको उक्त पार्कमा दर्शकको भीड लाग्न थालेको छ। आगामी मे ३१ तारिखसम्म नेपाली गैंडा प्रदर्शनमाराखिने चाइना डेलीले लेखेको छ। यसलाई 'नेपालको राष्ट्रिय गहना प्रदर्शनी' भनेर समाचारमा उल्लेख गरिएको छ। नेपालले उपहार दिँदा पोथी गैंडा 'मितिनी'को उमेर तीन वर्षको थियो भने वजन आठ सय किलो थियो। त्यसैगरी दुई वर्षको भाले गैंडा 'सोल्टी'को वजन ६ सय किलो थियो। हाल दुवै गैंडाको वजन एक हजार किलोग्रामभन्दा बढी रहेको जनाइएको छ। नेपाली गैंडालाई दैनिक एक सय २० किलो खाना दिने गरिएको छ। खानेकुरामा ताजा घाँस र सागपात दिइन्छ। वन्यजन्तु पार्कले नेपाली जोडी गैंडाका लागि सात हजार वर्गमिटर क्षेत्रफल छुट्ट्याएको छ। पार्कमा 'चीन–नेपाल गैंडा संरक्षण सहकार्य'पनि स्थापना गरिएको छ।

चीनबाट एकसिङे गैंडा बीसौं शताब्दी सुरु अर्थात् लगभग एक सय २० वर्ष पहिले लोप भएको मानिन्छ। अहिले नेपाल, भारतलगायत मुलुकमा एकसिङे गैडाको संख्या तीन हजारभन्दा कम रहेको छ। तीन वर्षअगाडिको गणनाअनुसार नेपालमा ६ सय ४५ वटा गैंडा रहेका छन्। नेपालले गत अगस्टमा उपहारका रूपमा चीनलाई दिएको 'सोल्टी' र 'मितिनी' नामक एकसिङे गैंडा साङहाइमा सार्वजनिक गरिँदै।

जानकारी तथा लेखहरु