फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साझाको इ-टिकटप्रति यात्रु आकर्षित

(GMT+08:00) 2019-04-09 15:58:34

नेपालको साझा यातायातले शुरु गरेको इ–टिकट प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ। 'इ–टिकेटिङ' बुझेका यात्रु सेवाप्रति आकर्षित भएका साझाले जनाएको छ। परीक्षणका रूपमा साझाले दुई साता अघि इ–टिकट सेवा शुरु गरेको थियो। भाडाका लागि दैनिक रकम तिर्नुको साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने भएकाले इ टिकटप्रति यात्रुको आकर्षण बढेको नेपाल खबर अनलाइनले लेखेको छ।

परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो।

इ–टिकेटिङ प्रणाली यात्रुका लागि नयाँ हो। यसप्रति कतिपय यात्रु अन्योलमा छन्। तर, यो प्रणाली बुझेका यात्रुले भने सबै बसमा यो प्रणाली लागू होस् भन्ने चाहेका छन्। पाण्डेयले भन्नुभयो, "कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुने थियो।"

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ–नयाँ सुविधा भित्र्या्उँदै लगेको छ। साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस समेत थपेको छ। विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो।

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो। विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालनमा ल्याएको हो।

पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म चल्न थालेका छन्। साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ। साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर 'सेमी लो स्टेप बस' समेत सञ्चालनमा ल्याएको छ। साझाले काठमाडौँदेखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ।

जानकारी तथा लेखहरु