फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

४२ सय मिटर उचाइमा म्याराथन दौड

(GMT+08:00) 2019-04-09 15:58:53

ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जितेका छन्। करीब चार हजार दुई सय मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम भएका नेपाल खबर अनलाइनले लेखेको छ।

२१ किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गरेका थिए। बिजेता दुबैले नगद ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भएका छन्। निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा पूरा गरेका थिए।

महिलातर्फ खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेश्रो भएका छन्।

भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गरेका हुन्। पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

म्याराथनका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताए।

चार हजार २०० मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको हो। उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए।

जानकारी तथा लेखहरु