फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङ एक्स्पोमा नेपालको लुम्बिनी शान्ति बगैँचा

(GMT+08:00) 2019-04-10 15:51:09

यही अप्रिल २८ देखि सुरु हुने 'बेइजिङ एक्स्पो २०१९' का लागि नेपालको विशेष प्रदर्शनीकक्ष लुम्बिनी शान्ति बगैँचाको निर्माण तिब्रताका साथ भइरहेको छ। नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा नेपाली र चिनियाँ प्राविधिकहरू लुम्बिनी शान्ति बगैँचा निर्माणको अन्तिम चरणमा पुगेका नागरिक अनलाइनले लेखेको छ। बेइजिङको उत्तरपूर्वी क्षेत्रमा पर्ने यानछिङ जिल्लामा 'बेइजिङ एक्प्पो २०१९' का नाममा अन्तर्राष्ट्रिय वनस्पति मेलाको आयोजना हुँदैछ। ६ महिनासम्म चल्ने यो मेलामा प्रदर्शनीका लागि नेपालले एक हजार वर्गमिटर क्षेत्रफल ठाउँ पाएको छ। जुन ठाउँमा नेपालको प्रतिनिधित्व हुने गरी लुम्बिनी शान्ति बगैँचा निर्माण भइरहेको हो। लुम्बिनी शान्ति बगैँचामा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ। त्यहाँ ११ फिट अग्लो बुद्धको मूर्ति पनि राखिनेछ। बुद्धको मूर्ति नेपालमा बनाएर चीनमा ल्याइएको छ।

एक्स्पोमा नेपालको तर्फबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले नेपालबाट प्राविधिकहरू ल्याई त्यसको तयारी गरिरहेको ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाहले बताउनुभयो। निर्माण कार्यमा १५ जना नेपाली प्राविधिक र १ सय ५० जना चिनियाँ प्राविधिकहरू कार्यरत छन्। नेपाल सरकारले यो एक्स्पोमा भाग लिने निर्णय गरी इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुपलाई सम्पूर्ण कामको जिम्मा दिएको छ। शाहले निर्माणको विशेष सामाग्री नेपालबाट ल्याइएको र अन्य कच्चापदार्थ चीनकै प्रयोग गरिएको बताउनुभयो। निर्माण कार्य र व्यवस्थापनको सम्पूर्ण खर्च इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको छ। उहाँले नेपाल सरकारको लगानी बिना नेपालको वृहत प्रचारप्रसार गर्नका ग्रुप जुटेको बताउनुभयो। ग्रुपमा नेपालका विभिन्न ३२ वटा व्यावसायिक कम्पनीहरू आवद्ध छन्।

एक्स्पोमा सहभागी अन्य देशहरूले ६ महिना अगाडिदेखि नै निर्माण काम थाले पनि नेपाल सरकारले ढिलो निर्णय गर्दा हतारमा निर्माण गर्नुपरेको शाहले बताउनुभयो। नेपाल सरकारले तीन महिना अगाडि मात्र एक्स्पोमा भाग लिने निर्णय गरी शाहको कम्पनी इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुपलाई काम गर्ने जिम्मा दिएको थियो। 'बेइजिङ एक्स्पो २०१९'मा १ सय ७ भन्दा बढी मुलुकले भाग लिँदैछन्। ती मुलुकमध्ये ४८ वटा मुलुकले आफ्नो पहिचान झल्किने पेभिलियन निर्माण गरेका छन्। नेपाल र भारतको पेभिलियन आमनेसामने छन्। ४८ मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियन उत्कृष्ट भएको शाहले बताउनुभयो। एक्स्पोको उद्घाटन अप्रिल २८ तारिखमा हुनेछ। लुम्बिनी शान्ति बगैँचाको उद्घाटन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ।

एक्स्पोको प्रदर्शनी समयावधि ६ महिनामा हरेक राष्ट्रले आफ्नो विशेष समारोहका रूपमा राष्ट्रिय दिवस मनाउनेछन्। नेपालले पनि आगामी सेप्टेम्बर १९ तारिखमा विशेष प्रदर्शनी गर्ने शाहले बताउनुभयो। सेप्टेम्बर १९ नेपालको संविधान दिवस पनि रहेको र नेपालले राष्ट्रिय दिवसमा मनाउँदै आएको दिन पनि त्यही दिन हो। यो दिन नेपालबाट कलाकारहरू चीनमा आएर विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने र 'नेपाली खाना महोत्सव' पनि गर्ने योजना रहेको शाहले बताउनुभयो। 'बेइजिङ एक्स्पो २०१९' वनस्पति प्रदर्शनी भएकाले व्यापारिक उत्पादनको प्रदर्शनी थोरै हुने गर्दछ। प्रत्येक राष्ट्रले २० प्रतिशत व्यापरिक प्रदर्शनी गर्न पाउने प्रावधानभित्र रहेर नेपालका मुख्य हस्तकलाका केही सामग्री र परम्परागत नेपाली खानेकुराहरू राखिनेछ। ६ महिनाको अवधिमा यो एक्स्पोको १६ करोड चिनियाँले अवलोकन गर्ने अनुमान गरिएको छ। 'एक्स्पोमा आएकामध्ये २५ प्रतिशतले मात्र नेपालको प्रदर्शनी कक्ष अवलोकन गरे भने पनि चार करोडले नेपालको बारेमा जानकारी पाउँनेछन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो एक्स्पो सर्वोत्कृष्ट साबित हुनेछ', शाहले भन्नुभयो, 'भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।' लुम्बिनी शान्ति बगैँचामा नेपालको पहिचान झल्किने चिनियाँ भाषाका श्रव्यदृश्य सामग्रीहरू राखिनेछ भने अन्य प्रदर्शनीहरू पनि रहनेछन्। एक्स्पोमा आएका चिनियाँले नेपालको बारेमा आधिकारिक र अद्यावधिक जानकारी प्राप्त गर्ने शाहले बताउनुभयो।

सन् २०१० मा आयोजित शाङहाई एक्स्पोमा नेपाल मण्डप पनि साहकै कम्पनीले निर्माण गरेको थियो। हाल यो मण्डपलाई चीनको हाइनान प्रान्तको सान्यामा स्थायी रूपमा राखिएको छ।

जानकारी तथा लेखहरु