फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनःसञ्चालनको तयारीमा तातोपानी नाका

(GMT+08:00) 2019-04-10 15:52:04

आगामी जेठदेखि पुन सञ्चालनको तयारीमा रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको दुई बरिष्ठ मन्त्री सहित उच्च सरकारी अधिकारीहरुले अवलोकन गरेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत उच्च पदाधिकारीले तातोपानी नाकाको अवलोकन गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौँ–कोदारी राजमार्ग मरम्मत सुधार तथा तातोपानी नाका पुनः संचालनको पूर्व तयारीका आफूहरुले अवलोकन गरेको आफ्नो ट्वीटरमा उल्लेख गर्नुभएको छ। मन्त्रीद्वयको टोलीमा पूर्वमन्त्री समेत रहेका सिन्धुपाल्चोक–१ का सांसद अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई सहभागी हुनुहुन्थ्यो।

यसैगरी सडक विभागका महानिर्देशक केशव शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि सहभागी हुनुहुन्थ्यो।

१२ बैशाख २०७२ को भूकम्पले निकै ठूलो क्षति पुर्‍याएपछि तातोपानी नाका बिगत ४ बर्षयता बन्द अवस्थामा थियो। काठमाडौँसम्म रेल ल्याउने र त्यसलाई उत्तर भारतसम्म पुर्‍याउने योजनामा रहेको चीनले केरुङलाई प्राथमिकतामा राखेपछि तातोपानी नाकाको भविष्य अन्योलमा परेको थियो।

चीनविरोधी गतिविधि भएको आशंकाका कारण पनि यो नाका पुनसञ्चालनका लागि चीनले त्यति चासो नदेखाएको कतिपयको विश्लेषण रहँदै आएको थियो। तर, नेपालको राजनीतिक नेतृत्वले तातोपानी नाका पुनसञ्चालनका लागि लगातार चिनियाँ नेतृत्वसँग जोड गरेपछि चीन यो नाका सञ्चालनका लागि तयार भएको हो।

तातोपानी नाकालाई पुनर्जीवन दिन सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपा नेता अग्नि सापकोटाले लगातार प्रयास गर्दै आउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण होस् वा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को, दुबै नेताले तातोपानी नाका पुनसञ्चालनका लागि चिनियाँ नेतृत्वसँग कुरा गर्नु भएको थियो।

त्यसपछि क्षतिग्रस्त तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले सहयोग गर्ने बचन दिएको थियो। अघिल्लो साल (०७४) चैत्र १ मा नेपाली तथा चिनियाँ अधिकारीहरुबीच तातोपानी भन्सार नाका पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको थियो।

उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि तत्कालिन चिनियाँ राजदूत यू होङले हस्ताक्षर गर्नुभएको थियो।

तातोपानी भन्सार नाकाका अलावा सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालय भवन निर्माणका लागि पनि सम्झौता भएको थियो। एक बर्षभित्रै भन्सार नाका पुननिर्माण गरिसक्ने योजनाका साथ सो सम्झौता भएको थियो।

त्यसअघि काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न त्यसअघि छुट्टै सम्झौता भएको थियो। पुन सञ्चालनका लागि काम अघि बढेको तातोपानी भन्सार नाका निर्माणको काम लगभग सकिएको छ। र, निकट भविष्यमा सञ्चालन गरिँदैछ।

'आगामी मे ३१ (जेठ १७) मा भन्सार नाका सञ्चालनमा आउनेछ' नेकपा नेता समेत रहेका सिन्धपाल्चोक–१ का सांसद सापकोटाले भन्नुभयो, 'त्यसैले आज दुईजना मन्त्री सहितको उच्चस्तरीय टोलीले भन्सार नाकाको अवलोकन गरेको हो।'

जानकारी तथा लेखहरु