फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्धुपाल्चोकको सुख्खा बन्दरगाहको निर्माणकार्य अन्तिम चरणमा

(GMT+08:00) 2019-04-12 16:46:58

नेपालको उत्तरी नाका तातोपानीलाई लक्षित गरी सिन्धुपाल्चोकको लार्चामा निर्माण थालिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल र चीनबीच हुने व्यापारलाई सहज गर्नका लागि बनाउन लागिएको सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको कारोबार अनलाइनले लेखेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो बन्दरगाह निर्माण भएको हो। सामान्य फिनिसिङको कामबाहेक संरचना सबै तयार भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

समितिका अनुसार ९९ प्रतिशत काम पुरा भइसकेको छ। यसको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्य मन्त्रालयका प्रतिनिधी, भन्सार विभागका महानिर्देशक, समितिका प्रतिनिधिले मंगलबार ड्राईपोर्टको निरीक्षण गरिसकेका छन्।

समितिका अनुसार ड्राईपोर्ट तयार भए पनि नेपाल सरकारलाई औपचारिक रूपमा मे महिनामा हस्तान्तरण हुने छ। फर्निचर, नेटवर्किङ, विद्युत्को व्यवस्था भए पोर्ट सञ्चालन गर्न सकिने समितिका अधिकारीहरूको भनाइ छ। आगामी मे १ मा तातोपानी नाका खोल्ने योजनाका साथ धमाधम अहिले मितेरी पुल र सडक निर्माणको काम भइरहेको छ।

करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईवटा भवन रहेका छन्। जुन दुई÷दुई तलाका छन्। एउटा मुख्य प्रशासनिक भवनको रूपमा प्रयोग हुने छ भने अर्को क्वार्टरका लागि प्रयोग हुने छ।

प्रशासनिक भवनमा अध्यागमन, बैंक, भन्सारलगायतका कार्यालय रहने छन्। नाका सञ्चालनमा आएपछि तातोपानी भन्सार कार्यालयबाट हुँदै आएको काम यहीँबाट हुने छ। बन्दरगाहका लागि आवश्यक पर्ने गोदामघर, क्वारेन्टाइन, जाँचपास यार्डलगायतका सबै खालका संरचना निर्माण गरिएको समितिले जनाएको छ।

आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू बनाइएको छ। करिव १ सय ६० ठूला र ३० वटा साना गाडी एकैपठक जाँच गर्न सकिन्छ। सय टनसम्म सामान बोकेको गाडी एकैपटक तौलिन सक्ने मेसिनसमेत राख्न लागिएको समितिले जानकारी दिएको छ।

भोटेकोसीमा आएको बाढीले बन्दरगाह जानका लागि प्रयोग गरिने पुल बगाएर थप क्षति पु-याएको थियो। गत जेठमा पुन द्विपक्षीय सम्झौता भएर बन्दरगाह निर्माण थालिएको हो। चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी (सिआरसीसी)ले निर्माणको काम गरिरहेको छ। चीन सरकारको १ अर्ब २० करोड रूपैयाँ लागतमा तयार पारिएको हो।

बन्दरगाहलाई भोटेकोसी नदीले क्षति नपु-याओस् भनेर वरिपरि रिटेनिङ मेसिनरी वाल उठाइएको छ भने अरनिको राजमार्गबाट बन्दरगाह जान आउनका लागि पुलसमेत निर्माण गरिएको छ। द्विपक्षीय सम्झौता भएर २०६९ सालबाट निर्माण सुरु गरिएको थियो। बन्दरगाह निर्माण गरिएका संरचनाले एउटा आकार लिइसकेको थियो। ८० प्रतिशत निर्माण सकिएको बन्दरगाहमा २०७२ साल वैशाख १२ मा आएको विनाशकारी भूकम्पले क्षति पु-याएको थियो। त्यसपछि बन्दरगाहको काम पूर्णरूपमा रोकिएको थियो।

जानकारी तथा लेखहरु