फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण गरिने

(GMT+08:00) 2019-04-17 14:11:53
नेपालमा पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण गरिने भएको छ। विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षरसमेत भएको थियो। लामो प्रक्रिया र कसरतपछि खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग गत फागुन १६ गते बिहीबार चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको नेपालखबर अनलाइनले जनाएको छ।

पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार, चिनियाँ टोली सन् २०१९ को मे मध्यतिर नेपाल आउने तयारी गरेको छ। शुरुको समझदारीअनुसार काम भएको भए यतिखेर नेपालको भूभागभित्र के कति मात्रामा पेट्रोलियम पदार्थ छ र आर्थिक रुपमा त्यस्ता खानी सञ्चालनमा ल्याउन सम्भव हुन्छ कि हुँदैन भन्ने समेत पत्ता लागिसकेको हुने थियो।

चीनको चाइना जिओलोजिकल सर्भेको टोली नेपाल आउन लागेको हो। सो टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ। खानी तथा भूगर्भ विभागका अनुसार पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका क्षेत्रमा चिनियाँ टोलीले अध्ययन गर्ने योजना छ। चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ। सो टोलीले इन्धन भण्डार पत्ता लगाउन विभिन्न क्षेत्रमा ड्रिलिङ गर्ने र भण्डार के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ। पत्ता लागेका खानीमा विशेष अध्ययन गरेपछि मात्रै पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रुपमा सम्भाव्य छ/छैनसमेत पत्ता लगाउनेछ। अध्ययनपछि मात्रै नेपालको भूभागभित्र रहेको इन्धनको भण्डार र क्षमता कति छ? खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भव छ वा छैन? भन्ने तथ्यसमेत पत्ता लाग्नेछ।

जानकारी तथा लेखहरु