फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल आयल निगमद्वारा सवा ५४ अर्ब राजस्व

(GMT+08:00) 2019-06-07 14:28:03

नेपालका ३६ सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगमले सबैभन्दा बढी राजस्व बुझाएको छ। निगमले आर्थिक वर्ष २०७४-७५ मा ५४ अर्ब ३१ करोड रुपैयाँ राजस्व दाखिला गरेको कारोबार अनलाइनले लेखेको छ। निगमले वार्षिक डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको छ। राजस्व तिर्नेमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीले २५ अर्ब २५ करोड रुपैयाँ दाखिला गरेको छ।

सार्वजनिक संस्थानबाट सरकारलाई झन्डै १ खर्ब रुपैयाँ राजस्व प्राप्त भएको छ। आर्थिक वर्ष २०७४-०७५ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानबाट सरकारलाई ९४ अर्ब ६ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको हो। सो रकम अघिल्लो वर्षको तुलनामा ५९.७३ प्रतिशतले बढी रहेको छ।

यी संस्थानले २८ हजार ५ सय २२ जनालाई रोजगारी दिएका छन्। २०७१ असार मसान्तसम्म संस्थानहरूले ३२ हजार १ सय ९७ रोजगारी सिर्जना गरेका थिए। बन्द संस्थानका कर्मचारीले अवकास पाएको तथा आधुनिक प्रविधिको उपयोग जस्ता कारणले कर्मचारी संख्या घट्दै गएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, कुल राजस्वमा संस्थानको योगदान १२.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो ९.७ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षमा सबैभन्दा बढी मुनाफा नेपाल टेलिकमले कमाएको छ। सो कम्पनीले एक वर्षमा १७ अर्ब ४८ करोड रुपैयाँ आर्जन गर्‍यो। दोस्रो स्थानमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ४३ करोड रुपैयाँ कमाएको छ। गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६५ करोड, नेपाल आयल निगमले ३ अर्ब ५८ करोड र कृषि विकास बैंकले ३ अर्ब ४३ करोड कमाएका छन्। बाँकी २१ संस्थानले ११ अर्ब ४८ करोड मात्र मुनाफा आर्जन गरेको सरकारी तथ्याङ्क छ।

३६ वटा सार्वजनिक संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष २०७४-७५ मा नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा संस्थानहरूको मुनाफामा सामान्य सुधार भएको सरकारी तथ्याङ्कले देखाएको छ। आव २०७३-७४ मा सार्वजनिक संस्थानको खुद मुनाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो भने २०७४-७५ मा मुनाफा बढेर ४३ अर्ब ४४ रुपैयाँ पुगेको थियो। कुल ६५ संस्थानमध्ये अहिले ३६ वटामात्र सञ्चालनमा छन्। सञ्चालनमा रहेका १८ वटा संस्थान पूर्ण सरकारी हुन्। यस्तै, १७ वटा संस्थानमा सरकारको ठूलो हिस्सा सेयर रहेको छ। सरकारले सामाजिक क्षेत्रमा सञ्चालित संस्थानमा बढी लगानी गरेको छ।

तथ्यांकअनुसार २०७४-७५ सम्म संस्थानहरूमा नेपाल सरकारको लगानी २ खर्ब ३७ करोड ९ लाख पुगेको छ। उक्त लगानीमध्ये सरकारले ९ अर्ब ८९ करोड रुपैयाँ लाभांश प्राप्त गरेको तथ्यांक छ। समीक्षा अवधिमा लाभांश पनि वृद्धि भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। यस आवमा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर स्वामित्व बढेको मन्त्रालयले जानकारी दिएको छ। संस्थानहरूमा सरकारले गरेको ऋण लगानी भने १ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ छ।

जानकारी तथा लेखहरु