फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन प्रवर्द्धन र वैदेशिक लगानीमा उद्योगीको चासो

(GMT+08:00) 2019-06-09 13:55:54

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता हुने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभाबाट फ्रान्समा हुने दुई देशबीचको बीटूबी मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको कारोबार अनलाइनले लेखेको छ।

प्रधानमन्त्री ओलीको फ्रान्स भ्रमणका लागि आवश्यक तयारी पूरा भएको फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो। राजदूत अधिकारीले भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई देशका निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी भएको बताउनुभयो। बीटूबी मिटिङको क्रममा युरोप भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध उद्योगी व्यवसायीहरूको टोलीलेसमेत राजदूत अधिकारीलाई भेटघाट गरी नेपाल र फ्रान्सबीच हुनसक्ने दुईपक्षीय लगानी, प्रविधि हस्तान्तरण, केबुलकार, पर्यटनको पूर्वाधार, काइनाइट स्टोन, जडिबुटी प्रशोधन र व्यावसायिक कृषिमा लगानी भित्र्याउन सकिने सम्भावना रहेको नेपाली उद्यमीहरूले जानकारी गराउनुभयो।

महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा रहेको नेपाली व्यवसायीको टोलीले नेपाल र फ्रान्सबीच हुने दुईपक्षीय व्यापार सम्झौताबाट नेपालको निजी क्षेत्रले पनि लगानीको विस्तार गर्नसक्ने बताएको छ। उपाध्यक्ष प्रधानले नेपालमा व्यावसायिक कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेकाले फ्रान्सको निजी क्षेत्रले पनि नेपालबाट फाइदा लिनसक्ने बताउनुभयो। "फ्रान्सको निजी क्षेत्रलाई नेपालमा भित्र्याउन सके पर्यटन र व्यावसायिक कृषिको विकास र विस्तारमा निकै सहयोग पुग्नेछ," प्रधानले भन्नुभयो।

नेपालका उद्योगी व्यवसायीको टोलीसँगको छलफलका क्रममा राजदूत अधिकारीले नेपाल र फ्रान्सबीच जनस्तरमै सम्बन्ध विस्तार गर्न आफू लागिपरेको बताउनुभयो। पेरिसस्थित नेपाली दूतावासमा युरोप भ्रमणमा रहेको महासंघको टोलीको स्वागत गर्दै राजदूत अधिकारीले फ्रान्सबाट नेपालको पर्यटन क्षेत्रले प्रचुर फाइदा लिनसक्ने बताउनुभयो। सन् १९०५ मा एक फ्रान्सेली नागरिकले लेखेको नेपालसम्बन्धी पुस्तकले पनि नेपाल र फ्रान्सबीचको सम्बन्ध शताब्दीऔंदेखि प्रगाढ रहँदै स्पष्ट पारेको उल्लेख गर्नुभयो।

नेपालमा वैदेशिक लगानी भित्र्याउने सरकारको अभियानलाई सहजीकरण गर्ने उद्देश्यका साथ महासंघ उपाध्यक्ष प्रधान नेतृत्व नेपाली उद्योगी व्यवसायीको टोलीले राजदूतलाई भेटेर नेपालको पर्यटन प्रर्वद्धन र वैदेशिक लगानीका विषयमा छलफलसमेत गरेको थियो। छलफलमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने र वैदिशक लगानी आकर्षित गर्ने सरकारको लक्ष्यअनुसार प्रधान नेतृत्वको टोली दुई साता लामो युरोप भ्रमणमा छ।

नेपालमा लगानी भित्र्याउन र व्यापार सहजीकरणका लागि आफू नियुक्त भएर आएदेखि नै पहल गरिरहेको उहाँले जानकारी गराउनुभयो। "म राजदूत भएर आएको दुई महिनामात्रै हुँदैछ। यो अवधिमा नेपालको कला संस्कृति, पर्यटन विकासका लागि थुप्रै काम गरेको छु," उहाँले भन्नुभयो, "आजको भोलि नहुन सक्छ। तर, नेपालमा फ्रान्सबाट हुने लगानी अब बढ्छ।" नेपाल पर्यटनको चापसमेत बढ्ने उल्लेख गर्नुभयो। सन् २०१८ मा फ्रान्सबाट ३२ हजार पर्यटक नेपाल भ्रमणमा गएको उहाँले बताउनुभयो। फ्रान्सले प्रविधिसँगै पर्यटन र कृषिबाट आर्थिक उन्नति गरेको उहाँले सुनाउनुभयो। "फ्रान्सको जनसंख्या करिब सवा ६ करोड छ। तर यहाँ हरेक वर्ष ९ करोडभन्दा बढी पर्यटक घुम्न आउँछन्," पर्यटनको सिजनमा त होटल पनि पाइँदैन।" सन् १९५० जुन ३ मा फ्रान्सका नागरिकले ८ हजारभन्दा बढी उचाइ भएको अन्नपूर्ण हिमाल सर्वप्रथम आरोहण गरेको स्मरण गर्नुभयो। यहाँका नागरिकले नेपाललाई बढी माया गर्ने र सद्भाव राख्ने गरेको उहाँले बताउनुभयो। नेपालको व्यापार, पर्यटन र अन्य क्षेत्रमा फ्रान्सको सहयोग रहँदै आएको र आगामी दिनमा अझै बढाउने प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

राजदूत अधिकारीले नेपाललाई माया गर्ने फ्रान्सेली थुप्रै भएको चर्चा गर्दै पर्यटन क्षेत्रले फ्रान्सबाट प्रशस्त फाइदा लिनसक्ने बताउनुभयो। भ्रमण टोलीले राजदूत अधिकारीसँग नेपालमा लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको थियो। उपाध्यक्ष प्रधानले नेपालमा ऊर्जा र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो। उहाँले फ्रान्सका लगानीकर्ताहरूलाई नेपालका उद्योगीसित मिलेर ऊर्जा, पर्यटनलगायत लगानी गर्ने वातावरण मिलाउन राजदूतको ध्यानाकर्षणसमेत गराउनुभयो। नेपालको समृद्धिका लागि नेपाली उद्योगी व्यवसायीहरू निकै चिन्तित रहेको बताउँदै प्रधानले भन्नुभयो, "नेपालमा लगानीको वातावरण बन्दै गएको छ। अब विदेशी लगानीकर्तालाई भित्र्याएर ठूला परियोजना सञ्चालन गर्नुपर्ने देखिन्छ। जसबाट रोजगारीसँगै नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ।"

रसुवामा केबलकार सञ्चालनका लागि फ्रान्सका व्यवसायीलाई लगानी गर्न पहल गरिदिन राजदूतसित उद्योगीले आगहसमेत गर्नुभयो। रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसङनुर्बु शेर्पाले रसुवामा केवलकार सञ्चालनका लागि निकै सम्भावना रहेको बताउनुभयो। उहाँले गोसाइँकुण्डमा केवलकार सञ्चालन गर्न सकिए विदेशी पर्यटकको चाप थामिनसक्नु भीड लाग्ने दाबी गर्नुभयो। उहाँले केवलकार सञ्चालनका लागि पहल गर्न राजदूतलाई ध्यानाकर्षण पत्रसमेत बुझाउनुभयो। केवलकारका लागि युरोपका स्वीट्जरल्याण्ड, जर्मनी र फ्रान्स प्रविधिसहित अनुभवमा निकै अगाडि छन्। उनीहरूसँग भएको अनुभव र प्रविधिलाई नेपालमा भित्र्याउन सके पर्यटन क्षेत्रको विस्तार र विकासका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको कथन थियो।

जानकारी तथा लेखहरु