फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय क्षेत्र पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव गरिने

(GMT+08:00) 2019-06-25 14:31:10
 असार १५ अर्थात किसानको विशेष दिन। रोपाइँ महोत्सव भनिने यस दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँछ। असार १५ मा हिलो छुनुपर्ने नेपाली समाजको मान्यता छ। तर असार १५ को दिन प्रत्येक वर्ष पोखरामा भने रोपाइँ महोत्सव मनाइन्छ। हरेक वर्षजस्तै यसपालि पनि पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडामा रोपाइँ महोत्सव हुने छ। पोखरा पर्यटन परिषदले आयोजना गर्ने महोत्सवमा हल गोरु दौडाएर, हिलोमै माछा समाएर, हिलो छ्यापाछ्याप गरेर र दही चिउरा खाएर रमाइलो गरिने अनलाइन खबरले जनाएको छ।

महतगौंडा बिरुवाफाँटमा किसान ऋषिराम भण्डारीको करिब ४ सय रोपनी खेतमा किसानमात्रै हुँदैनन्, सहरका सुकिला मुकिला पनि हिलोमा रमाउन पुग्छन्। हिलोमा रमाउनकै लागि देशी–विदेशी पर्यटक महतगौंडा पुग्छन्। यसपटक पनि ५ सयभन्दा बढी विदेशी पर्यटक हिलोमा रमाउन आउने आयोजक पर्यटन परिषदको विश्वास छ। स्वदेशी पर्यटकसमेत गरी २५ सय जना रोपाइँ महोत्सवमा सहभागी हुन आउने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल बताउनुहुन्छ।

अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट प्रत्येक वर्ष यही मौका पारेर पाहुना आउने गरेका छन्। जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्सलगायतका देशका पर्यटक पनि हिलोमा रमाउन पोखरा आउँछन्। हिलोमा रमाउन र यहाँको परम्परागत खेती प्रणालीको अनुभव लिन पनि विदेशी पर्यटन पोखरा आउने गरेका छन्।

धान रोपाइँ नदेखेका र हिलोमा नखेलेकाहरु त्यसमा रमाउँदैनन् मात्र, अभ्यास पनि गर्छन्। आजभन्दा १६ वर्षअघि जतिबेला पोखरामा त्यति ठूलो संख्यामा पर्यटक आउँदैनथे। त्यसमा पनि असारदेखि भदौसम्मको महिनालाई पर्यटकीय अपसिजन मान्ने गरिएको छ । 'पोखरा सबै मौसमका लागि' नाम दिएर रोपाइँ महोत्सवको परिकल्पना गरिएको थियो।

हल गोरुको दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा महिला, पुरुषको दौड, विदेशी पर्यटक र पत्रकारको दौड, हिलोमै हुने रस्साकस्सी रोपाइँ महोत्सवका विशेषता हुन्। असारे गीत, दही चिउरा र विभिन्न खानाका परिकार र सांस्कृतिक कार्यक्रमले महोत्सवमा रौनक थप्छ।

यसैबीच महोत्सवलाई सफल बनाउन अध्यक्ष पोखरेलकै संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति र १८ वटा उपसमिति गठन गरिएको सचिव डिल्लीप्रसाद गौतमले जानकारी दिनुभयो। महोत्सवमा रमाउन आउने पाहुनाका लागि आचारसंहितासमेत बनाइएको छ। जसले उच्छृंखल गतिविधि हुन नदिने आयोजकको दाबी छ। असारे रोपाइँ तथा गीत प्रतियोगितामा पनि त्यति नै राशीको पुरस्कार राखिएको छ। महोत्सव सफल बनाउन १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु