फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारको ढुकुटीमा धेरै रकम संचिति

(GMT+08:00) 2019-06-25 14:36:54
अघिल्ला वर्षहरुमा विकास (पुँजीगत) बजेट खर्च गर्न नसक्दा सरकारको ढुकुटीमा नगद बचत हुन्थ्यो। यो वर्ष भने अवस्था विगतको भन्दा फरक छ। विकास मात्र होइन चालु र वित्तीय व्यवस्थापनका लागि विनियोजित बजेटसमेत खर्च नहुँदा ढुकुटीमा एक खर्ब ६४ अर्ब रुपैयाँ थुप्रिएको छ।

सरकारी ढुकुटी व्यवस्थापन गर्ने राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामात्र बाँकी (जेठ ३१ सम्म) हुँदा सरकारी कोषमा एक खर्ब ६४ अर्ब रुपैयाँ नगद बाँकी रहेको नागरिकले जनाएको छ। 'जेठ ३१ सम्मको हिसाबमा सरकारी ट्रेजरीमा एक सय ६४ अर्ब रुपैयाँ नगद देखिएको छ,' राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो, 'कोषमा बढी रकम देखिनुको प्रमुख कारण सरकारको भौतिक प्रगति भएको तर वित्तीय प्रगति नभएकाले हुनसक्छ।'

प्रवक्ता निरौलाले सरकारले काम गरेको तर भुक्तानी नदिएका कारण नगद बचतको अवस्था देखिएको अनुमान गरे पनि सरकारी अधिकारीहरुले यो वर्ष लक्ष्यअनुसार काम गर्न नसकेको बताउँदै आएका छन्। अर्थमन्त्री युवराज खतिवडाले संसद्समक्ष यो वर्ष कानुन बनाउँदा समय लागेका कारण खर्च बढाउन नसकेको भन्दै आगामी वर्षबाट कुनै छुट पाउन नसकिने बताउनुभएको थियो। अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले पनि यो वर्ष सोचेअनुसार खर्च गर्न नसकिएको स्वीकार गर्दै आएका छन्। अस्थिर सरकारले लक्षित बजेट खर्च गर्न नसकेको भनेर आलोचना हुँदै आएको थियो। डेढ वर्षअघि दुई तिहाइको स्थिर र बलियो सरकार बनेपछि बजेट खर्च बढ्ने आम अपेक्षा थियो। तर, त्यसअनुसार सरकारले खर्च गर्न नसकेकाले सरकारी ढुकुटी भरिन पुगेको हो।

जानकारी तथा लेखहरु