फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा क्वाङ्चौ सहरमा उडानका लागि चीनले सुरक्षा अवस्था बुझ्ने

(GMT+08:00) 2019-07-11 14:28:59

चीनको क्वाङ्चौ सहरमा उडान अनुमति प्रक्रिया अघि बढाएको नेपाल वायुसेवा निगमको 'सेफ्टी अडिट' गर्न चिनियाँ टोली आउने भएको छ। नेपाल युरोपियन युनियनको सुरक्षा खतरा सूचीमा रहेको भन्दै चीनले उडान सुरू गर्नुभन्दा पहिले सेवाप्रदायक कम्पनीको सुरक्षा, व्यवस्थापनसहितको सुपरिवेक्षण गर्न लागेको हो।

चिनियाँ नागरिक उड्डयन नियामक निकायले सुरक्षा अवस्थाको जाँचबुझ गरेपछि मात्र उडान अनुमति दिने/नदिनेबारे निर्णय गरिने जवाफ निगमलाइ पठाएको छ। अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले आफ्नो एक अडिट टोली नेपाल पठाउन लागेको हो। यससम्बन्धी पत्र यही जुलाई ५ तारिखमा निगमले प्राप्त गरिसकेको छ। निगमले व्यवस्थापन टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जानकारी दिएको नेपालखबर अनलाइनले जनाएको छ।

निगम कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको छ। चीनको चासो नेपाल वायुसेवा निगमसँग भन्दा पनि नेपाली वायुसेवा उद्योगका सम्बन्धमा छ। इयूले उठाइरहेकै विषयलाई उनीहरुले पनि चासोका रुपमा हेरेको खरेलले जानकारी दिनुभयो। अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्नेछ। यो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि निगमलाइ क्वाङ्चौ उडान सुरू गर्न केही ढिलो हुनेछ। नेपाल र चीनबीच सन् २००४ मा भएको दशबुँदे दुईपक्षीय हवाइ सेवा सम्झौता भएको थियो।

जानकारी तथा लेखहरु