फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पानीजहाज सञ्चालनका लागि केही संस्थाहरू इच्छुक

(GMT+08:00) 2019-07-12 14:48:29
नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली झन्डा अन्तर्राष्ट्रिय सामुद्री क्षेत्रमा फहराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्। कम्पनी दर्ताका लागि अनुमति लिन ललितपुरस्थित नेपाल पानीजहाज कार्यालयमा ती समूह पुगेका छन्।

कार्यालयबाट अनुमति पाएपछि मात्र कम्पनीले समुद्रमा पानीजहाज सञ्चालन गर्ने पाउने व्यवस्था छ। कार्यालयका रजिस्ट्रार ऋषिराम कोइरालाले कार्यालयमा व्यापारिक पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै दुई प्रस्तावित कम्पनी अनुमतिका लागि आएको नागरिकन्यूज डटकमले जनाएको छ।

कार्यालयले समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्न आवश्यक कानुन बनाइरहेको छ। कानुन बनिसकेपछि कार्यालयमा कम्पनी दर्ता भई समुद्रमा पानीजहाज सञ्चालन गर्नेछन्। २०२७ सालमा बनेको पानी जहाजसम्बन्धी ऐनले अहिलेको अन्तर्राष्ट्रिय कानुनलाई नसमेट्ने भएकाले नयाँ कानुन बनाउन थालिएको रजिस्ट्रार कोइरालाले बताउनुभयो।

२०२७ सालमा नेपाली झन्डा समुद्रमा फहराउन पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानीजहाज दर्ता नियमावली–२०२८, नेपाली पानीजहाज ऐन २०२७ र नेपालको प्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन २०२७ ल्याइएको थियो। उहाँका अनुसार विज्ञ समूहको सहभागितामा कार्यालयले कानुन बनाउने छ। ऐन बनाएर अनुमतिपत्र दिन अझै १० महिना जति लाग्नेछ। पानीजहाज सञ्चालन गर्न २७ अन्तर्राष्ट्रिय सन्धि, महासन्धिको पालना गर्नुपर्ने हुन्छ।

जानकारी तथा लेखहरु