फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध विमानस्थलको समयावधि थपियो

(GMT+08:00) 2019-07-15 15:26:13

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ। विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ (पुस १६)सम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो। निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उहाँले उल्लेख गर्नुभयो।

'आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ, अहिले धावनमार्ग, 'एप्रोन', 'ट्याक्सी बे' को निर्माण भइसकेको छ। अब, भवनको 'फिनिसिङ' र 'लाइटि' को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ', उहाँले भन्नुभयो।

विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ। विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ। सन् २०१७ को डिसेम्बर महिनामा निर्माण सक्ने लक्ष्यसहित निर्माण शुरु भएको विमानस्थलको यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो। पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो।

उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ। सन् २०१४ को डिसेम्बर ३१ बाट निर्माण शुरु गरिएको गौतमबुद्ध विमानस्थलको छ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ।

जानकारी तथा लेखहरु