फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बाढी पहिरोबाट सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

(GMT+08:00) 2019-07-16 14:22:30

नेपालमा अबिरल वर्षाबाट बाढी–पहिरो उत्पन्न भई विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ। सडक विभागको प्रारम्भिक तथ्यांक अनुसार देशभर तीन दर्जनभन्दा धेरै सडक र चारवटा पुलमा क्षति पुगेको नागरिक अनलाइनले लेखेको छ।

सडक विभागका महानिर्देशक केशवप्रसाद शर्मा भन्नुहुन्छ, 'बाढीपहिरोले करिब तीन दर्जनभन्दा धेरै सडकमा क्षति पु-याएको छ,' उहाँले भन्नुभयो, 'महेन्द्र राजमार्गसहितका चारवटा पुलमा क्षति पु-याएको छ।' विभागले क्षतिग्रस्त केही सडकलाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएको जनाएको छ।

'बाढीपहिरोले क्षतिग्रस्त अधिकांश सडक एकतर्फी भए पनि सञ्चालनमा ल्याएका छौं,' महानिर्देशक शर्माले भन्नुभयो, 'विभागले देशभर हेभी इक्विपमेन्ट लगायत उपकरण राखेर बाटो खुलाउने काम गरिरहेको छ।' विभागका अनुसार मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका केही खण्ड अझैसम्म खुलाउन सकिएको छैन।

अबिरल वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्गमा निर्माणाधीन एउटा र हुलाकी राजमार्गका दुईवटा पुललाई क्षति पु-याएको छ। 'बाढीपहिरोले भत्काएको पुल निर्माणको लागि कम्तीमा दुई वर्ष लाग्न सक्छ,' उहाँले भन्नुभयो, 'भत्किएका पुलको विस्तृत अध्ययनपछि मात्रै अन्य कुरा पत्ता लगाउन सकिनेछ।'

भत्किएका सडकमध्ये खुर्कोट–हर्कपुर, हिलेपानी–दिक्तेल र कान्तिपथमा भने अहिलेसम्म सवारी साधन गुडाउन सकिएको छैन। महेन्द्र राजमार्गको बर्दिबासनेर भप्सीको पुल बाढीले भत्काएपछि सडक विभागले वैकल्पिक उपाय गरेर सवारी साधन सञ्चालन गरिएको जनाएको छ। 'बर्दिबास–औरही–गौशाला–माईस्थान खण्ड सञ्चालनमा ल्याएका छौं,' विभागका प्रवक्ता शिवहरि सापकोटाले भन्नुभयो, 'भप्सी खोलामा अहिले बेलिब्रिज निर्माण गरिरहेका छौं। सम्भवतः एक साताभित्रै पुल तयार पारेर सहज ढंगले सवारी साधन वारपार गराउनेछौं।'

प्रवक्ता सापकोटाले सडक विभागले देशभर नै हेभी इक्विपमेन्ट लगायत उपकरण राखेर उच्च सतर्कता अपनाएको बताउनुभयो। 'हामीसँग पर्याप्त मात्रामा उपकरण छन्। जुनसुकै बेला पनि उद्दार गर्न सक्ने गरी तयारी अवस्थामा राखेका छौं,' उहाँले भन्नुभयो, 'हेभी इक्विपमेन्ट लगायत मेसिनको लागि आवश्यक तेल लगायत सामग्री तथा उपकरणको व्यवस्था मिलाएका छौं।'

सडक विभागले अबिरल वर्षाले अवरोध भएका त्रिभुवन राजपथको बागझोरा र सिमभन्ज्याङ सडक खण्ड सञ्चालनमा आइसकेको छ। त्यसैगरी, बिपी राजमार्गको नेपालटार–खुर्कोट सडक खण्ड पनि सञ्चालनमा आइसकेको छ। विभागका अनुसार मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड निर्माणाधीन अवस्थामा छ। उक्त सडक दुई–तिन दिनभित्रै सम्पन्न गर्ने योजनासहित काम भइरहेको छ। महानिर्देशक शर्माले सडक विभागको अथक प्रयासपछि बेनी–जोमसोम सडक खण्ड सोमबार मध्याह्नतिर सञ्चालनमा ल्याएको बताउनुभयो। 'लामो कसरतपछि बेनी–जोमसोम सडक खण्ड सञ्चालनमा ल्याउन सफल भएका छौं,' उहाँले भन्नुभयो, 'त्यहाँ सवारी साधन गुड्न थालिसकेका छन्।'

सडक विभागले बाढीपहिरोले भत्काएको सडक तथा पुल पूर्ण रुपमा सम्पन्न गर्न कम्तीमा दुई वर्ष लाग्ने बताएको छ। 'भत्किएको सडक, पुलको प्रकृति हेरेर मात्रै कहिले निर्माण सम्पन्न हुने भन्ने निर्धारण गर्न सकिन्छ,' महानिर्देशक शर्माले भन्नुभयो, 'भर्खरै बर्खा सुरु भएको छ। अझै कति क्षति हुने हो, अहिल्यै आँकलन गर्न सक्ने अवस्था छैन। त्यसैले क्षति तथा नोक्सानिको आंकडा बढ्न सक्छ।'

विभागले खहरे खोलामा पानीको मात्रा घटेसँगै खोला डाइभर्सन गरेर सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ। विभागका प्रवक्ता सापकोटाले बर्खे मौसमको सडक अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई सुझाउनुभयो। 'बर्खामा जुनसुकै बेला सडक अवरोध हुन सक्छ। त्यसैले ट्राफिक प्रहरीसँग सरसल्लाह गरेर मात्रै हिँड्न अनुरोध गर्छौं,' उहाँले भन्नुभयो, 'पहिरो खस्ने भीर लगायत क्षेत्रमा विशेष सावधानी अपनाउनुहोला।'

जानकारी तथा लेखहरु