फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पर्यटनबाट ७० अर्ब रुपैयाँको आम्दानी

(GMT+08:00) 2019-07-16 14:24:01
नेपालमा पर्यटन क्षेत्रबाट सन् २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा शनिबार प्रकाशित 'नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१८' का अनुसार अघिल्लो वर्षको तुलनामा पर्यटन क्षेत्रबाट यस वर्ष १७ प्रतिशत बढी आम्दानी भएको कान्तिपुर अलनाइनले लेखेको छ।

सन् २०१७ मा पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२करोड ६९ लाख रुपैयाँ आम्दानी भएको थियो। उक्त आम्दानी सन् २०१५/१६ को तुलनामा ४० प्रतिशत बढी हो। उक्त वर्ष ४१ अर्ब ७६ करोड ५ लाख रुपैयाँ आम्दानी भएको थियो। सन् २०१८ मा पर्यटकको बसाइ अवधि औसत १२.४ दिन रहेको स्टाटिस्टिक्समा उल्लेख छ। पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन्। पर्यटकको बसाइ भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ। अघिल्लो वर्ष पर्यटकको बसाइ अवधि १२.६ दिन थियो।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो। सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विगतमा जस्तै सन् २०१८ मा समेत सबभन्दा बढी पर्यटक छिमेकी मुलुक भारत र चीनबाट आएका छन्।

नेपालमा बढी पर्यटक आउने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रोमा छ। भारतबाट सन् २०१८ मा १ लाख ९४ हजार ३ सय २३ र चीनबाट १ लाख ५३ हजार ६ सय ३३ जना पर्यटक नेपाल आएका थिए। बढी पर्यटक आउनेमा अमेरिका तेस्रोमा पर्छ। अमेरिकाबाट ९१ हजार ८ सय ९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४ सय ६६ र पाँचौंमा रहेको श्रीलंकाबाट ६९ हजार ६ सय ४० पर्यटक नेपालआएका थिए।

नेपाल भित्रिने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन्। सन् २०१८ मा ७ लाख ३ हजार ८ सय ४३ जना बिदा मनाउन र १ लाख ८७ हजार ६ सय ९२ जना धार्मिक कामका लागि आएको स्टाटिस्टिक्समा उल्लेख छ। साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा समेत नेपाल पर्ने गरेको छ।

जानकारी तथा लेखहरु