फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना सञ्चालनमा

(GMT+08:00) 2019-07-17 14:37:37

नेपालको राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना सञ्चालनमा आएको छ। मंगलबार उर्जा तथा जलस्रोत मन्त्रालयमा पत्रकार सम्मेलन गरी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रानीजमरा कुलरिया आयोजना र सिक्टा सिँचाइ आयोजनामा भएको प्रगतिका विषयमा जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ। कैलालीमा रहेको रानीजमरा आयोजना सञ्चालनमा आएपछि १४ हजार ३ सय हेक्टर जमिन सिञ्चित हुने उहाँले जानकारी दिनुभयो।

१४ हजार ३ सय हेक्टर प्रणालीलाई स्तरोन्नति गरेर ३८ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने भन्दै उहाँले आयोजनाअन्तर्गतको इन्टेक जडान गर्नुपर्ने ८ वटा गेटमध्ये हाल ३ वटाको काम सम्पन्न भइसकेको पनि बताउनुभयो। विश्व बैंकको ऋण अनुदानमा सम्पन्न भएका राष्ट्रिय गौरवको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाटै सञ्चालनमा आएको पनि मन्त्री पुनले बताउनुभयो।

रानीजमरा कुलरिया सिँचाइ आयोजना ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु-याउने लक्ष्यका साथ निर्माण गरिएको हो। मंगलबारदेखि सञ्चालनमा आएको उक्त आयोजनाबाट हाल १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाइएको छ। कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानीजमरा र कुलरिया सिँचाइ प्रणालीलाई वृहत सिँचाइका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो।

एक सय वर्षभन्दा पहिलेदेखि यी तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा १९८५ सालमा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पु-याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण अघि बढाएको थियो। करिब २७ अर्ब रूपैयाँको लगानीमा आयोजनाको काम सम्पन्न भएको हो।

यस्तै, २०६३ सालबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पनि मंगलबारदेखि नै सञ्चालनमा आएको उहाँले बताउनुभयो।

तत्कालै ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। २५ अर्बको लागतमा उक्त सिँचाइ आयोजना निर्माण सम्पन्न भएको हो।

जानकारी तथा लेखहरु