नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल मंगलबार चीन प्रस्थान आउँदैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनियाँ पक्षसँग छलफल गरी पुनरवलोकनका लागि निष्कर्ष निकाल्ने अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।
वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनियाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल र चीनबीच सन् २०१४ मा भएको भएको सम्झौतालाई पुनरवलोकन गर्न लागिएको हो। यो सम्झौता चौथोपटक पुनरावलोकन गर्न लागिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
दुई दिनसम्म हुने उक्त वार्ता नेपालले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र नेपालबाट चीनमा उडान विस्तार गर्दै गरेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलान्सको हितमा हुनेछ। नेपाली वायुसेवाले चीनमा उडान अनुमति नै नपाएका र चिनियाँ आधादर्जन वायुसेवाले भने सातामा ७० वटासम्को उडान गर्दै आएका छन्। चिनियाँ वायुसेवाले नेपालमा थप उडान गर्न चाहेको र निर्माणाधीन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अनुमति माग गरेका छन्। यी दुई विमानस्थल सञ्चालनपश्चात् चीनबाट सीधा उडान गर्न चीन इच्छुक छ। नेपालका वायुसेवाले चीनका विभिन्न सातवटा विमानस्थलमा उडान गर्न पाउने गरी यसअघि सहमति भएको थियो।
चीनमा नेपाल वायुसेवाले उडान गर्न प्रक्रियागत जटिलता रहेकाले यसलाई सहजीकरण गर्ने वार्ताको प्रमुख एजेन्डा हो। नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ र बेइजिङमा उडान अनुमति मागेको भए पनि अझै यसको टुंगो लागेको छैन। निगमले लामो प्रयासपछि अब ग्वान्जाओ पाउने प्रक्रियामा छ। नेपाली वायुसेवालाई उडान अनुमति सहजीकरणको व्यवस्था गर्न तथा चिनियाँ सबै विमानस्थलमा नेपाली वायुसेवाले उडान अनुमति जतिबेला पनि लिन सक्ने गरी एएसए पुनरवलोकन गर्ने एजेन्डामा नेपाली पक्ष रहेको छ।
यो समस्या समाधानले दुवै देशले मागेकै विमानस्थलमा उडान अनुमति पाउने र जुनसुकै विमानस्थलमा पनि उडान गर्न सहजै पाउने गरी सम्झौता हुने जानकारी आचार्यले दिनुभयो। उहाँका अनुसार मानसरोवर दर्शनमा सहजीकरण गर्ने तथा आकासबाटै पर्वतीय उडान गर्ने एजेन्डालाइ पनि नेपालले उठाउने भएको छ। नेपालले यस अघि नै यो विषयमा छलफल गर्न चाहेको भए पनि मानसरोवर नजिकै चीनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले सहमति हुन सकेको थिए। अहिले यो विमानस्थल निर्माण भइसकेको र विदेशी हवाई यात्रु तथा दर्शनार्थीलाई हेलिकप्टर तथा हवाई जहाजबाटै दृश्यावलोकन गराउने प्रस्ताव नेपालले अगाडि सारेको छ।
नेपालले हाल चीनका बेइजिङ, क्वाङ्चौ, ल्हासा, शांहाई,खुनमिङ, छङ्तु र सियान गरी सात सहरका विमानस्थलमा मात्रै उडान गर्न सक्ने गरी सम्झौता भएको छ। चीनले भने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने उल्लेख छ। चीनले उडान संख्या बढाउन खोजेको, नयाँ विमानस्थलमा उडान गर्न चाहेको छ।