दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि तीन सातासम्म स्थलगत अध्ययन गरेर चिनियाँ टोली मंगलबार फर्किएको छ।
पेट्रोलियम पदार्थको उत्खनन गर्नका लागि पञ्चकोशी क्षेत्रमा पहिलो चरणको अध्ययन भएको हो। अध्ययनपछि भूगर्भविद्सहितको चिनियाँ टोली काठमाडौं फर्किएको सेतोपाटी अनलाइनले जनाएको छ।
दोस्रो चरणमा अन्वेषण कार्य दसैँपछि गर्नेगरी टोली फर्किएको हो। 'चिनियाँ टोलीको लागि त्यो नयाँ ठाउँ हो, फिल्ड अब्जरभेसन सकिएको छ, दसैँपछि अर्को चरणको कार्य हुनेछ' खानी तथा भू–गर्भ विभागका परियोजना प्रमुख सुधीर रजौरेले भन्नुभयो।
पहिलो चरणको अध्ययनमा टोलीले पेट्रोलियम पदार्थको भण्डारण, भौगोलिक अवस्था, सडक, क्याम्प राख्ने स्थानलगायतको अध्ययन गरेको रजौरेले जानकारी दिनुभयो।
तीन वर्षभित्र अन्वेषणको काम सकेर सरकारलाई प्रतिवेदन दिने कार्ययोजना अध्ययन टोलीको रहेको उनले बताए। दसैँपछि गरिने दोस्रो चरणको अन्वेषण कार्य ६ महिनासम्म चल्नेछ।
उहाँका अनुसार दोस्रो चरणमा ड्रिल गर्न मिल्ने स्थान हेरी कम्तिमा चार किलोमिटर ड्रिल गरेर कम्पन दिइने छ। त्यसपछि मात्र पेट्रोलको भण्डारण कति छ भन्नेबारे पत्ता लाग्नेछ। नेपालका भूगर्भविद सहित चीनको चाइना जिओलोजिकल सर्भेको टोली पेट्रालियम पदार्थ भएको ठाउँ अध्ययनका लागि असार पहिलो साता दैलेख आएको थियो।