फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहस्राब्दी पदमार्गमा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाइने

(GMT+08:00) 2019-07-26 14:37:47

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ। नेपाल सरकारद्वारा घोषित 'भिजिट नेपाल २०२०' मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो। गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र भिजिट नेपाल २०२० लाई सफल पार्ने योजनाअनुरुप लक्ष्य सार्वजनिक गर्दै आफूहरू अघि बढेको समितिका महासचिव हर्क गुरुङले बताउनुभयो।

सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवर्द्धनलाई लक्षित गरी बृहत् गुरुयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइसकिएको उहाँले जानकारी दिनुभयो। गुरुयोजनामा पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।

गोरखापत्र अनलाइनका अनुसार समितिले पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ । लक्ष्य सार्वजनिकसँगै पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताउँदै महासचिव गुरुङले यसबीचमा विभिन्न स्थानमा अत्यावश्यकीय पूर्वाधार निर्माण भइसकेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु