फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र भारतबीच सीमा तथा बाढी समस्याबारे दुईपक्षीय सहमति हुने

(GMT+08:00) 2019-07-27 13:35:02

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचका समस्या समाधान गर्न महत्वपूर्ण विषयमा दुईपक्षीय सहमति हुने बताउनुभएको छ। त्यस्तो सहमतिले बाढी, डुबान, सीमा समस्या, जलस्रोत उपयोगलगायत यसअघि भएका विभिन्न सन्धि तथा सम्झौता पुनरवलोकन गरी अगाडि बढ्न सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, "परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठक बस्ने तयारी गर्दैछौँ, दुवै पक्षको सर्वोत्तम हित हुनेगरी समस्या समाधान गर्नुपर्छ भन्नेमा नेपाल सरकार प्रस्ट छ। " शुक्रबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको 'नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपायहरू' विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले इतिहासका गल्ती नदोहोरिने गरी समाधानको पहल हुने स्पष्ट पार्नुभयो।

नेपाल र भारतबीच प्रकृतिको नियमबाट सिर्जना भएका र इतिहासले बोकाइदिएका कानुनी दस्तावेजका कारण विवाद र समस्या बारम्बार बल्झिरहेको उहाँको भनाइ छ । उहाँले बाढी र डुबान साझा समस्या भएकाले दुवै देशका नागरिकको समस्या हो भन्ने सोचेर समाधान गर्नेतिर लाग्नुपर्ने आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

बाढी, डुबान र नदी दुई देशको सम्बन्धसँग जोडिए पनि जनसम्बन्ध सबैभन्दा ठूलो सम्बन्ध भएको उहाँले प्रस्ट्याउनुभएको गोरखापत्र अनलाइनले जनाएको छ। नदीको बहाव कहीँ कतै रोकिनु भएन र छेउछाउ जहाँ अवरोध भएको छ, त्यहाँ तटबन्ध गरेर सुरक्षा दिनुपर्ने मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु