फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारका कर्मचारीहरुको विदेश भ्रमणमा चीन पहिलो रोजाइ

(GMT+08:00) 2019-07-30 14:15:26

पछिल्लो एक वर्षमा नेपाल सरकारका १ सय ६७ कर्मचारीहरु विदेश भ्रमणमा गएका छन्। विदेश भ्रमणमा जाने मध्ये सबैभन्दा बढी चीन भ्रमणमा गएको नागरिक अनलाइनले लेखेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गएकामध्ये चीन जानेको संख्या मात्र १ सय ४ रहेको हो। मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कार्मचारी चीन पुगेको बताएको हुन्।

चीनले गरेको अद्भूत विकासले विश्वलाई लोभ्याएको छ। चीन आफूले गरेको प्रगति विश्वलाई देखाउन जसरी आतुर छ, त्यसरी नै अन्य मुलुकका नागरिकहरू पनि चीन पुग्न लालायित छन्। त्यसकारण नेपालबाट पनि धेरै कर्मचारी विभिन्न अवसर पारेर चीनको भ्रमणमा निस्कने गर्छन्। चीनप्रतिको आकर्षण संघीय मामिला मन्त्रालयमा मात्र सीमित छैन, अन्य मन्त्रालयका कर्मचारी, राजनीति दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी, समाजसेवी र पत्रकारको संख्या पनि उस्तै छ।

संघीय मन्त्रालयकै विवरणअनुसार अर्को छिमेकी मुलुक भारतमा एक वर्षमा १९ कर्मचारीले मात्र भ्रमण गरेका छन्। चीनपछि सबैभन्दा धेरै ४१ जना कर्मचारी जापान पुगेका छन्। जापानको क्षेत्रीय विकास, ग्रामीण विकास, विपद् नियन्त्रण, समुदायमा आधारित विकासलगायत शीर्षकमा सामान्य प्रशासन तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारीले जापान भ्रमण गरेका हुन्। यो सूचीमा कोरिया तेस्रो स्थानमा छ। कोरिया भ्रमण गर्ने कर्मचारीको संख्या २६ छ। थाइल्यान्ड ११, जर्मन आठ, मलेसिया पाँच, फिलिपिन्स पाँच, इन्डोनेसिया तीन, नेदरल्यान्ड, फिलिपिन, भियतनाम दुई÷दुई जनाले भ्रमण गरेको देखिन्छ। त्यस्तै दक्षिण कोरिया, स्विट्जरल्यान्ड, अमेरिका, न्युजिल्यान्ड, भुटान र अस्ट्रेलिया एक÷एकजना विदेश भ्रमणमा गएका छन्।

विदेश जानेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित मन्त्रालयका उपसचिव, सहसचिव, शाखा अधिकृत, इन्जिनियर, नायब सुब्बासहितका कर्मचारी छन्। त्यस्तै स्थानीय हतका जनप्रतिनिधिहरूले पनि विदेश भ्रमण गरेका छन्। विदेश जानेमा नगरपालिकाका मेयर, उपमेयरका साथै गाउँपालिकाका उपाध्यक्षहरू पनि छन्। मन्त्रालयका अनुसार विदेश जानेमध्ये सबैभन्दा बढी शाखा अधिकृत छन्। यस अवधिमा सबैभन्दा धेरै ६४ जना अधिकृत भ्रमणका लागि विदेश गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत ४६ जना छन्।

त्यस्तै उपसचिव ४३, सहसचिव १८ र इन्जिनियर १५ जना विदेश गएको देखिन्छ। नायब सुब्बा सात, उपमेयर सात, जिसिअ सात, मेयर ६, कम्युटर अधिकृत चार, लेखा अधिकृत चार, उपाध्यक्ष दुईजना विदेश भ्रमणमा सहभागी भएका छन्। त्यसैगरी महानिर्देशक दुई, अनुसन्धान उपनिर्देशक एक, अनुसन्धान निर्देशक एक, कम्प्युटर अनुसन्धान एक, स्वकीय सचिव एक, मन्त्री एक र अनुसन्धान अधिकृत एकजनालगायतले विदेश भ्रमण गरेको देखिन्छ।

जानकारी तथा लेखहरु