फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अर्बको चुरापोते र मेहन्दी आयात

(GMT+08:00) 2019-07-30 14:21:44

साउन महिना सुरु भएसँगै बजारमा हरिया र पहेंला चुरापोतेसँगै मेहन्दीको कारोबार निकै बढेको छ। साउनमा अधिकांश महिलाले हरिया र पहेंला चुरा र मेहन्दी लगाउने भएकाले यसको कारोबारमा वृद्धि भएको कारोबार अनलाइनले लेखेको छ।

बजारमा अधिकांश कस्मेटिक पसलमा चुरा किन्ने ग्राहकको भीड लाग्ने गरेको छ। साउनकै महिनाका लागि वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीका चुरापोते र अन्य कस्मेटिकका सामान बाहिरी मुलुकबाट आयात हुने गरेको छ। छिमेकी मुलुक भारत, चीन, थाइल्यान्डलगायतका मुलुकमा चुरापोते र मेहन्दी आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्रै मुलुकमा २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका शृङ्गारका सामग्री आयात गरिएको छ। करिब १३ करोड ५४ लाख ७७ हजार पिस शृङ्गारका सामग्री आयात भएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा यस्ता सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो। विभागको तथ्यांकअनुसार शृङ्गार सामग्रीमा चुरा, पोते, मेहन्दी, टिकौली, लिप मेकअप, आइ मेकअप, पाउडरलगायत पर्दछन्। विभागका अनुसार पोते र चुरा मात्रै ४ करोड ८४ लाखभन्दा धेरैको आयात भएको छ।

राजधानीसँगै अन्य सहरमा हरियो चुरा र मेहन्दी लगाउने चलन संस्कृतिकै रूपमा अगाडि बढेको छ। यो संस्कृतिले किशोरी तथा युवती सबैलाई छोएको छ। खासगरी महिलाले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित रहेको मेहन्दी र चुरा अहिले आएर सबैजसो महिला र अविवाहित युवतीका लागिसमेत फेसन जस्तो भएको छ।

साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ। न्युरोडमा पाँच वर्षदेखि चुरा पोते बेच्दै आएका दिनेश यादव साउनमा चुरा, पोते र मेहन्दी लगाउने चलन भएकाले यसको कारोबार बढी हुने गरेको बताउँछन्।

जानकारी तथा लेखहरु