फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीद्वारा निर्मण गरिएको माथिल्लो त्रिशूली 'थ्री ए' सम्पन्न

(GMT+08:00) 2019-08-02 14:16:11
चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो त्रिशूली 'थ्री ए' को दोस्रो युनिटको परीक्षण उत्पादन सुरु भएको छ। योसँगै ६० मेगावाट जडित क्षमताको निर्माण पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो।

आयोजनाको पहिलो युनिटबाट जेठ २ गते उत्पादन सुरु भइसकेको छ। दोस्रो युनिट पूरा भएसँगै बुधबारदेखि परीक्षण उत्पादन सुरु भएको आयोजना प्रमुख जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार ७२ घण्टे परीक्षण उत्पादनका क्रममा आयोजनाको टनेल, टर्बाइनजस्ता पूर्वाधार र उपकरणहरूको परीक्षण गरिनेछ। एक महिनाभित्र आयोजनाको परीक्षण प्रक्रिया भई नियमित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने उहाँले जानकारी दिनुभयो। 'विद्युत् उत्पादन अहिले नै सुरु भइसकेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ,' उहाँले भन्नुभयो, 'परीक्षणका क्रममा उत्पादन बन्द हुने र खुल्ने भइरहन्छ। एक महिनाभित्र नियमित उत्पादन सुरु हुन्छ।'

आयोजनाको विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ। आयोजनाको विद्युत्गृह नुवाकोटको सिम्लेमा छ। दोस्रो युनिट असार दोस्रो साता सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारको ढिलाइका कारण पर धकेलिएको हो।

काठमाडौंबाट नजिक र सुक्खायाममा समेत ऊर्जा उत्पादन हुने भएकाले ऊर्जा अभाव पूर्तिको लागि यो आयोजनालाई महत्त्वपूर्ण मानिन्छ। आयोजना सञ्चालनमा आएसँगै जलाशययुक्त कुलेखानी आयोजनामा दबाब कम पर्ने नेपाल विद्युत् प्राधिकरणको विश्वास छ। यो आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गरिएको हो। आयोजनाले सुक्खायाममा समेत ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ। आयोजना सञ्चालनमा आएसँगै सुक्खायाममा भारतबाट आयात हुने विद्युतको परिणाम घट्नेछ।

यही आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिएको हो। यही पूर्वाधार प्रयोग गरी त्रिशूली नदी बेसिनमा निर्माण हुने अन्य आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिनेछ।

१७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो। त्यसपछि भूकम्पका कारण आयोजनाको पहुँच मार्गमा क्षति पुगेपछि निर्माण तालिका प्रभावित भएको हो। आयोजना ९० मेगावाटमा स्तरोन्नति गर्ने विषयमा पनि समय खेर गएको थियो।

प्रसारण लाइनको ठेक्का चाइना वाटर एन्ड इनर्जी (सीडब्लूई) ले पाएको थियो। प्रसारण लाइन निर्माणका लागि २ करोड २६ लाख अमेरिकी डलरमा चिनियाँ कम्पनीसँग २०६७ चैत १३ गते सम्झौता भएको थियो। प्रसारण लाइनको लम्बाइ ४८ किलोमिटर छ।

आयोजनाबाट वार्षिक ४६०.४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। कुल विद्युत्मध्ये ४६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले यसलाई ऊर्जा सन्तुलनका लागि महत्त्वपूर्ण आयोजना मानिएको छ। आयोजनाबाट आठ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ।

आयोजनाबाट उत्पादन हुने विद्युतको लागत साढे दुई रुपैयाँ हुने प्रारम्भिक अनुमान थियो। माथिल्लो त्रिशूली 'थ्री ए' बाट विद्युत् उत्पादन भएर निस्किएको पानी उपयोग गरी माथिल्लो त्रिशूली 'थ्री बी' ३७ मेगावाट विद्युत् उत्पादन गर्नेछ।

आयोजनाका लागि चीनको एक्जिम बैंकले ११ करोड ५७ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिएको छ। वार्षिक १ दशमलव ७५ प्रतिशत ब्याजदरमा उपलब्ध ऋणको म्याद २५ वर्षको छ। ऋण लिएको ५ वर्षपछि भुक्तानी सुरु गर्ने गरी आयोजनाका लागि ऋण लिइएको हो।

जानकारी तथा लेखहरु