फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थपियो २२ मेगावाट बिजुली

(GMT+08:00) 2019-08-02 14:22:55

पाँचथरको तल्लो हेंवाखोला जलविद्युत् आयोजनाको काम सकिएसँगै मुलुकको विद्युत् प्रणालीमा २२.२ मेगावाट बिजुली थपिएको छ। पाँचथरको हेंवाखोलामा निर्माण भएको आयोजनाबाट विद्युत् परीक्षण उत्पादनको काम भइरहेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

'अहिले परीक्षण उत्पादनको अन्तिम चरणमा पुगेका छौं', आयोजनाका परियोजना प्रबन्धक गणेश सुब्बाले भन्नुभयो, 'अब केही दिनमै व्यावसायिक उत्पादन सुरु गछौं।' यहाँबाट उत्पादन गरिएको बिजुली १३२ केभीए विद्युत् प्रसारण लाइन काबेली करिडोरको थापाटार सबस्टेनमा लगेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाबाट अहिले प्रतिघण्टा २२ हजार एक सय युनिट विद्युत् उत्पादन भइरहेको छ। खोलामा पानीको मात्राको आधारमा बिजुली उत्पादन हुने बताइएको छ। सुक्खायाममा पनि कम्तीमा १२ मेगावाट बिजुली उत्पादन हुने बताइएको छ।

१५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु हुनेछ। परीक्षण उत्पादन अन्तिम चरणमा पुगेको सुब्बाले जानकारी दिनुभयो। २०७१ सालदेखि निर्माण सुरु गरिएको आयोजना निर्धारित समयभन्दा निकै ढिलो गरी सम्पन्न गरिएको हो। हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आयोजना निर्माणको जिम्मा लिएको थियो। सुरु भएको ३० महिनामा सम्पन्न गर्नुपर्ने काम ४८ महिनामा मात्र पूरा भएको हो।

आयोजना सञ्चालन गर्न जम्मा ३४ सय मिटर टनेल निर्माण गरिएको छ। प्लान्ट इन्चार्ज नोभेम्बर यादवका अनुसार फिदिम नगरपालिकास्थित नागिनको ज्यामिरे खेतदेखि नागिनकै फेमे खोलाको ओडारे खेतसम्म १३ सय मिटरको टनेल र फिदिमस्थित चमेरे खोल्साबाट चार हजार मिटरको टनेल निर्माण गरी आयोजना सञ्चालनमा ल्याइएको हो। हेंवाखोला र फेमे खोलाको पानी एकै ठाउँमा जम्मा गरेर आयोजना निर्माण गरिएको हो। दुई खोलाको पानीलाई टनेलमार्फत फिदिमको खर्कबारी खोल्सामा खसाएर पावर हाउससम्म पुर्‍याइएको छ।

खर्कबारीमा निर्माण गरिएको पावरहाउसबाट थापाटारमा रहेको सबस्टेसनसम्म विद्युत् लगेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। तीन अर्ब ६६ करोड रुपैयाँको स्टिमेट तयार गरेर आयोजना निर्माणको काम अघि बढेको थियो।

निर्धारित समयमा काम सम्पन्न नहुँदा आयोजना निर्माणको लागत बढेको छ। कुल चार अर्ब ३० करोड लागतमा आयोजनाको काम पूरा भएको सुब्बाले जानकारी दिए। 'निर्माण अवधि लम्बिएकाले आयोजना निर्माणमा ७० करोड लागत बढेको हो', सुब्बाले भने, 'विभिन्न समस्याका बाबजुद आयोजनाको काम पूरा भएको हो।' आयोजना निर्माणका लागि ६५ प्रतिशत लगानी बैंकहरूले गरेका हुन्।

जानकारी तथा लेखहरु