फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

(GMT+08:00) 2019-08-04 13:55:55

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओलीले सिंगापुरको सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु हुने अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

उहाँ सिंगापुरको नियमित उडान सिल्क एअरमा त्यसतर्फ शनिबार प्रस्थान गर्नु भएको हो। 'प्रधानमन्त्रीको समग्र स्वास्थ्यको परीक्षण सिंगापुरमा हुनेछ। अहिले उहाँको बसाई एक साता तय भएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भन्नुभयो, 'प्रधानमन्त्रीलाई त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) ले प्ररीक्षणमा कति समय लगाउँछ त्यही आधारमा बस्नु हुनेछ।'

सिंगापुरको सरकारी अस्पताललाई न्युयोर्कमा रहेका ख्यातीप्राप्त निजी एवं सरकारी अस्पतालसँग तुलना गरिन्छ। यसअघि उहाँले आफ्नो उपचार दिल्ली, थाइल्याण्ड र सिंगापुराम गराउँदै आउनु भएको थियो।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आउनु भएको छ। उहाँको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

अधिकांश समय थाइल्याण्ड जाने गरेका प्रधानमन्त्री यसपटक सिंगापुर जानु भएको हो। केही समयदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली केही दिन यताका कार्यक्रममा उपस्थिति न्युन गराउनु भएको थियो।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यसिंह शाह सहभागी हुनुहुन्छ। प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फर्कनुहुनेछ। सिंगापुरमा उच्चस्तरको राजनीतिक भेटघाट नहुने भनिए केही महत्वपूर्ण भेट हुने बताइएको छ।

परराष्ट्र मन्त्रालयले पनि त्यहाँको अवैतनिक दूत र थाइल्याण्डस्थित राजदूतलाई प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा र प्रधानमन्त्रीको चाहना हुँदा केही भेटघाट मिलाउनसमेत निर्देशन दिएको छ।

प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि जानु भए पनि उहाँलाई सिंगापुरको सुरक्षामा खटिएका नेपाली गोर्खा सेना (सिंगापुर पोलीस) को शिविरमा निम्त्याउन त्यहाँ रहेका गोर्खा लागि परेका छन्।

सिंगापुरमा नेपली व्यवसायी पनि रहेकाले उनीहरुले पनि भेटघाट र छलफल गर्ने बताइएको छ। सरकारी स्तरमा पनि छलफल हुनसक्ने अधिकारीले बताएका छन्। भेटघाटको टुंगो भने अझै नलागेको परराष्ट्र अधिकारीले बताए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण विशुद्ध पारिवारिक भएको प्रष्ट पार्नु भएको छ।

जानकारी तथा लेखहरु