संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारी भव्य हुने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को लागि आवश्यक सुझाव कार्यक्रममा मन्त्री भट्टराईले भन्नुभयो, 'राज्य र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण गर्ने र पर्यटन वर्षलाई सफल पार्ने अभियान पूरा गर्न सकिन्छ।'
यसका लागि सरकारी निकायले गर्नुपर्ने कामको वर्गीकरण गरेर जान सरकार तयार रहेको बताउँदै उहाँले भ्रमण वर्षको कार्यक्रम र योजनाका निम्ति पर्यटन व्यवसायीलाई तीन दिन भित्र आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो। अब सरकारले निजी व्यवासायी, कूटनीति नियोग, विदेशमा रहेका नेपाली सबैको सहयोगमा भ्रमण वर्ष सफल पार्ने काम गर्छ।
बाहिर रहेका ५० लाख नेपालीमार्फत एक जनाले एक व्यक्तिलाई नेपाल भ्रमण गर्न सुझाउने गरी योजना तय गर्न लागेको पनि मन्त्री भट्टराईले बताउनुभयो। भ्रमण वर्ष सफल बनाउन नेपाल वायुसेवा निगमलाई थला पर्नबाट जोगाउने, देशका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीसँग क्षेत्रगत छलफल गर्ने उहाँले बताउनुभएको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।
यसैबीच सरकारले २० लाख पर्यटक भित्र्याउने गरी घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' को तयारीप्रति पर्यटन व्यवसायी भने असन्तुष्ट छन्। सरकारले प्रारम्भिक तयारी नगरी भ्रमण वर्ष मनाएको र पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार, नीति तथा संरचनामा ध्यान नदिएको व्यवसायीको भनाइ छ।