फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा

(GMT+08:00) 2019-08-11 14:42:27

नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बत जोडेर उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ। एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने गोरखापत्र अनलाइनले लेखेको छ।

बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्ड अन्तर्गत जोमसोम–कोरला खण्डको १४ किलोमिटर ट्र्याक खोल्ने कार्य मात्रै बाँकी रहेको छ। बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका अनुसार जोमसोम–कोरला ११० किलोमिटर खण्डको तीन स्थान गरी जम्मा करिब १४ किलोमिटर ट्र्याक खोल्ने काम मात्र बाँकी छ। यो काम आगामी असोजभित्र सम्पन्न हुने बताइएको छ। बेनी–जोमसोम खण्डको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ।

आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले सबैभन्दा जोखिम र ठाडो भीर रहेको तीनै स्थानमा ट्रयाक खोल्ने कार्य तीव्र गरिएको बताउनुभयो। घ्याकर–समरसम्मको सात किलोमिटर, झोखोला क्षेत्रमा दुई किलोमिटर र घमी–चराङ क्षेत्रको पाँच किलोमिटर गरी १४ किलोमिटरको ठाडो भीर चिर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको इन्जिनियर यादवले खुलाउनुभयो।

भौगोलिक विकटता एवं प्रतिकूल मौसमले उक्त खण्डमा वर्षदिनमा पाँच महिना मात्रै सडक निर्माण कार्य सक्रियतापूर्वक हुन्छ। जोमसोम–कोरला क्षेत्रमा मौसम अनुकूल हुँदा बेनी–जोमसोम खण्डको विभिन्न स्थानमा पहिरो गएर निर्माण सामग्री ढुवानीमा समस्या हुँदै आएको छ।

उक्त खण्डमा सडक स्तरोन्नतिका कार्य पनि धमाधम हुँदै छ। ११० किलोमिटर सडकलाई सातवटा प्याकेजमा विभाजन गरी स्तरोन्नति कार्य गरिँदै छ। आयोजनाका प्रमुख इन्जिनियर मुकुन्द अधिकारी स्तरोन्नतिको गुणस्तर उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ।

बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजना कार्यान्वयन भएको दस वर्ष बितेको छ। सुरुमा २०७६/७७ मा सम्पन्न हुने लक्ष्य लिइएको थियो तर पछि संशोधन गरी २०७८/७९ सम्म सक्ने लक्ष्य लिइएको छ। लक्ष्यबमोजिम बेनी–जोमसोम ७६ किलोमिटर समयमै सम्पन्न हुने देखिए पनि जोमसोम–कोरला खण्ड कालोपत्रे हुन अझै केही वर्ष लाग्ने आयोजनाले जनाएको छ।

१८६ किलोमिटर सडकखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ तर हालसम्म दुईवटा पुल मात्रै सम्पन्न भएको छ। १३ वटा पुलको डिजाइन गरिँदै छ। १९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको प्रमुख इन्जिनियर अधिकारीले बताउनुभयो।

उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाका निर्देशक शिव नेपालले बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य द्रुत गतिमा अगाडि बढाइएको बताउनुभयो। उक्त खण्डमा कालोपत्रे गर्न चार छुट्टै प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। उहाँले भन्नुभयो, "सडकको सतह बनाउने काम सकिएको छ, केही महिनामै बेनी–जोमसोम खण्डको कालोपत्रे गर्ने कार्य सकिन्छ। "

तर, सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर अधिकारीले भने विभिन्न अवरोधले अपेक्षाकृत काम गर्न नसकिएको बताउनुभयो। उहाँले सडक निर्माणमा आएको कठिनाइ चर्चा गर्नुहुँदै भन्नुभयो, "२०० विद्युतीय खम्बा, बेनी बजारमा चार किलोमिटर लामो खानेपानीको पाइप र कालीगण्डकी प्रसारण लाइनको टावर नहटेसम्म सडक निर्माणले तीव्रता पाउँदैन। ऐतिहासिक महत्वको तातोपानी कुण्ड बीच सडकमै पर्छ, माथिबाट सडक लगे घुमाउरो बढी हुने र बस्ती हटाउनुपर्छ। "

प्रमुख इन्जिनियर अधिकारीले असोजसम्ममा कालोपत्रे सक्ने लक्ष्य लिए पनि यी समस्या समाधान नभई ठ्याक्कै मिति तोक्न नसकिने जनाउनुभयो। आयोजनाले भने सडकको बीचमै तातोपानी कुण्ड राखेर दुवैतिर लेन बनाउने अवधारणामाथि जोड दिइरहेको छ तर स्थानीयलाई भने उक्त अवधारणाले रिझाउन सकेको छैन।

सुरुमा मात्र तीन मिटर लम्बाइ रहेको सडकखण्डलाई विस्तार गरी दुई लेन बनाइएको छ। ११ मिटर चौडा गरिँदा आयोजना कार्यान्वयनमा पहिलेको भन्दा बढी अवरोध आएको आयोजनाले जनाएको छ।

दुई लेनको सडकखण्डमा पर्ने बस्तीका घर टहरा पनि हटाउने कार्य भएको छैन। आयोजनाका इन्जिनियर यादवले घरको सङ्ख्या, क्षेत्रफल र मूल्यबारे सर्भेको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले जिल्लास्थित मूल्याङ्कन समितिको सिफारिसमा सक्दो छिटो मुआब्जा वितरण गरी सडक निर्माणको अवरोध हटाउनमा आयोजना केन्द्रित रहेको जनाउनुभयो।

समस्याका बीच पनि बेनी–जोमसोम ७६ किलोमिटर सडकको सम्पूर्ण निर्माण आगामी असार महिनाभित्रै सकिनेमा आयोजना निर्देशक नेपाल र प्रमुख इन्जिनियर अधिकारी विश्वस्त हुनुहुन्छ।

कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजना हो। करिडोरले भारतीय सीमासँग जोडिएको मध्यपश्चिम मधेसको नवलपरासीलाई पहाडी र हिमाली जिल्ला हुँदै चिनियाँ सीमासित जोडेको छ। त्यसको पूर्णताले त्रिदेशीय व्यापारलाई सहयोग अपेक्षा गरिएको छ। पश्चिममा पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बागलुङ, पर्वत हुँदै हिमाली जिल्ला म्याग्दी र मुस्ताङ उक्त करिडोरअन्र्तगत पर्छन्।

करिडोरको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ। पहाडी र हिमाली जिल्ला हुँदै चिनियाँ सीमा जोड्ने बेनी–जोमसोम–कोरलाको लम्बाइ १८६ किलोमिटर छ। नवलपरासी–बेनीसम्मको खण्डको लम्बाइ २४९ किलोमिटर छ।

जानकारी तथा लेखहरु