फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै

(GMT+08:00) 2019-08-11 14:46:30

जाजरकोटमा जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएकाले केही वर्षअघिसम्म जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाइने निगालो अहिले पाउन मुस्किल भएको छ। निगालो मासिएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी बताउँछन्। निगालो मासिएसँगै निगालोको चोयाबाट निर्माण हुने डोको, डालो, भकारीलगायत अन्य सामग्री निर्माण गर्न कठिनाइ भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो।

निम्न वर्गका स्थानीयवासी डोको, नाङ्लोलगायतका वस्तु निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए। अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरुको भनाइ छ।

जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ। निगालोको तामा (टुसा) जथाभावी तरकारी खाने र वर्षायाममा माथिल्लो क्षेत्रमा पशुचौपाया लिएर जाँदा निगालोलाई घाँसको रुपमा बढी प्रयोग गर्दा पनि निगालो मासिएको डिभिजन वन कार्यालयले जनाएको छ। संरक्षणतर्फ कसैले ध्यान नदिने तर सधैँ प्रयोग मात्र गर्दा निगालो लोप भएको हो।

निगालोकै जङ्गलमा रेडपाण्डा लगायतका जनावार बस्ने भए पनि निगालो मासिंदा यी जनावरसमेत सुरक्षित बासस्थानको अभावमा लोप हुँदै गएका छन्। नलगाड नगरपालिका तथा बारेकोट र कुशे गाउँपालिका विश्वमै लोपोन्मुख रेडपाण्डाको बासस्थान मानिन्थ्यो।

अहिले यी क्षेत्रमा निगालोको विनाश हुँदा जाँदा सुरक्षित वासस्थानको अभावमा रेडपाण्डा पाउन छाडिएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाइले बताउनुभयो। उहाँले भन्नुभयो, "रेडपाण्डा संरक्षण क्षेत्रमा छिट्टै संरक्षित क्षेत्र घोषणा कार्यक्रम शुरु हुन लागेकाले सामुदायिक वनको विधान परिमार्जन गरी निगालो संरक्षणको अभियान शुरु हुन लागेको छ।"

गत वर्ष आएको विज्ञहरुको टोलीले गरेको अध्ययनमा यस क्षेत्रमा २० देखि २२ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ। यी तीनैवटा पालिकाले रेडपाण्डा संरक्षणका लागि बजेटको समेत व्यवस्था विशेष कार्यक्रम बनाएर वन उपभोक्ता समूहका सदस्य र स्थानीयवासीलाई तालीम लिएका छन्। दुई तीन वर्षको अवधिमा शिकारीको पासोमा परी बारेकोटमा ती वटा र कुशे गाउँपालिकामा एउटा रेडपाण्डा मारिएको थियो। लोपोन्मुख यस जनावर मारेको अभियोगमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दा समेत चलाइएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो।

वन तथा वातावरण मन्त्रालयले जाजरकोटका तीन वटा स्थानीय तहका सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गरेर यहाँको जल, जमीन, जङ्गल, जडीबुटी र वन्यजन्तु संरक्षणका लागि अभियानमा लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो। यहाँका तीन स्थानीय तहलगायत डोल्पाको मुड्केचुला र जुम्लाको स्थानीय तहका केही ठाउँमा संरक्षित क्षेत्र घोषणा गर्नका लागि पहिलो चरणको विज्ञसहितको टोलीले अध्ययन गरिसकेको मन्त्री बस्नेतले बताउनुभयो। रेडपाण्डा, कालिजलगायतका संरक्षित वन्यजन्तु संरक्षणका लागि निगालो जोगाउनु पहिलो दायित्व भएको उहाँको भनाइ छ।

निगालो जोगाउनका लागि हिमाली क्षेत्रमा जथाभावी रुपमा पशु चौपायालाई लिएर गोठाला जाने कार्यलाई व्यवस्थित गरिने संरक्षित क्षेत्रको कार्ययोजनामा रहेको छ। निगालोको लागि जाजरकोट सबैभन्दा उत्कृष्ट क्षेत्र भए पनि अहिले कमजोर हुँदै गएको छ।

जानकारी तथा लेखहरु