फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानीमैत्री वातावरण निर्माणमा नेपालको सुधार गति अग्रस्थानमा

(GMT+08:00) 2019-08-11 14:48:52

पछिल्लो छ महिनामा लगानीमैत्री वातावरण निर्माण गर्नेमा नेपाल विश्वकै उत्कृष्ट मुलुकमा सूचीकृत भएको छ। विश्वभर वैदेशिक लगानी प्रवद्र्धनका लागि भइरहेको प्रयासमा पछिल्लो छ महिनामा नेपाल १८६ राष्ट्रमध्ये पहिलो बनेको हो। विश्वव्यापी रूपमा बैङ्किङ, पुँजीबजार लगानी, विदेशी विनिमय, क्षेत्रीय बजार लगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीको अध्ययनले यस्तो देखाएको गोरखापत्र अनलाइनले लेखेको छ।

सन् २०१९ जनवरीदेखि जुनसम्मको अवस्था अध्ययनका आधारमा तयार गरिएको 'युरोमनी रिस्क सर्भे'मा नेपालको प्रयासले पाँच दशमलव पाँच अङ्क पाएर उत्कृष्ट स्थान हासिल गरेको हो। विस्तृत सर्वेक्षणका रूपमा गरिएको यो अध्ययनमा १८६ देश समेटिएको छ। अध्ययन प्रतिवेदनमा भनिएको छ, "विश्वकै सर्वोच्च शिखरको देश भनेर चिनिने नेपाल यसपटक जोखिमको विस्तृत सर्वेक्षण गर्दा लगानी वातावरण सुधार तीव्र रूपमा गर्नेको सूचीमा समेत सर्वोच्च बनेको छ।"

सर्वेक्षणमा नेपालपछि माल्दिभ्स एक दशमलव ७९ अङ्कका साथ दोस्रो स्थानमा छ भने इथियोपिया शून्य दशमलव ९३ अङ्कसहित तेस्रो स्थानमा छ। बङ्गलादेश १०औँ स्थानमा छ। यो सुधारका आधारमा लगानीको उपयुक्त वातावरण भएका मुलुकको सूचीमा गत वर्षभन्दा १४ स्थान माथिसमेत आइपुगेको छ। अघिल्ला चार वर्षमा औसत दुई मात्र थियो। रिपोर्टमा समग्रमा नेपाल ३१.८ अङ्कसहित १३५औँ स्थानमा आइपुगेको हो। वैदेशिक लगानीको आकर्षक गन्तव्य बनिरहेको छिमेकी मुलुक बङ्गलादेश ३२.५ अङ्कका साथ १३०औँ स्थानमा छ।

सर्वेक्षणमा लगानीको वातावरणका १५ विभिन्न जोखिमलाई आधार बनाएर सूचक निर्धारण गरिएको थियो। यसमा नेपालको राजनीतिक, आर्थिक तथा संरचनागत क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गरिएको छ।

अध्ययनले नेपालको लगानीमैत्री वातावरणमा तीव्र गतिले सुधार आउनुमा मुख्य कारणका रूपमा राजनीतिक स्थिरतालाई मानेको छ। त्यसैगरी गएका दुई वर्षमा भएको आर्थिक वृद्धि, सङ्घीयताको संस्थागत विकास र न्यून मुद्रास्फ्रीतिलाई पनि आधार कारण भएको औँल्याइएको छ। रिपोर्टमा भनिएको छ, "लगानीका लागि नेपाल झन् सुरक्षित बन्दै छ र विगतमा बेवास्ता गरिएका तर महत्वपूर्ण क्षेत्रमा नयाँ अवसर खोलिरहेको छ।"

गत चैतमा सम्पन्न लगानी सम्मेलन, त्यसअघि र पछि निरन्तर भइरहेका नीतिगत, कानुनी तथा संरचनागत सुधार र सरकारको सक्रियताका कारण लगानीको वातावारण तीव्र गतिले सुधार भइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले टिप्पणी गर्नुभयो।

"नयाँ संविधान र स्थिर सरकारले सिर्जना गरेको राजनीतिक स्थिरताले लगानी गर्ने वातावरण दिएको हो", अधिकारीले थप्नुभयो, "प्रधानमन्त्रीसहित समग्र सरोकारवाला नेपालमा लगानीमैत्री वातावरण निर्माण गरेर समृद्धि अभियानमा लागिरहेका कारण सबै उत्साहित हुने अवस्था आएको हो।"

नेपाल यस अवधिमा लगानी सम्मेलन गरेर विश्व समुदायमाझ नेपाल लगानीको उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्न सक्षम भएको थियो। स्वदेशी तथा विदेशी लगानीकर्ताले अनुभव गर्दै आएका कानुनी तथा प्रक्रियागत जटिलता हटाउने गरी विभिन्न कानुनी व्यवस्था गरिएको छ।

औद्योगिक व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनजस्ता नयाँ कानुनी व्यवस्थाले लगानीकर्ताले लगानी सुरक्षित हुने, उच्च दरको प्रतिफल प्राप्त हुने अवस्था सुनिश्चित भएको अधिकारीको भनाइ छ। "नेपाल लगानीको उपयुक्त गन्तव्य बनाउने दिशामा अझै सुधार गर्दै छौँ, यसमा सबै सरोकारवालाको सक्रियता जारी हुनुपर्छ", उहाँले स्पष्ट पार्नुभयो।

युरोमनीको समीक्षाअनुसार सुधारको गति तीव्र भए पनि सुधार गर्नुपर्ने अवस्था भने अझै धेरै बाँकी छ। यसले प्रदान गर्ने अधिकतम १०० मा नेपालले हालसम्म ३२.८ मात्र पाएको छ। औद्योगिक सुरक्षा अझै सुनिश्चित हुन नसकेको यसमा औँल्याइएको छ। सरकारको कमजोर खर्च क्षमता, विकास आयोजना कार्यान्वयनका विविध जटिलता, वित्तीय क्षेत्रमा देखिने गरेकोे तरलता अभावले पनि नकारात्मक प्रभाव पार्ने अवस्था छ। समग्र लगानीको वातावरण समीक्षा गर्दै भनिएको छ, "जोखिमका विभिन्न क्षेत्रलाई पटक्कै बेवास्ता गर्नु हुँदैन र जोखिम निराकरण गर्दै नेपाल धेरै अगाडि बढ्न बाँकी छ।"

जानकारी तथा लेखहरु