फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा नेपाली धावक निमेशलाई स्वर्ण पदक

(GMT+08:00) 2019-08-12 15:20:28

चीनको छन्दुकमा जारी वर्ल्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले दोस्रो स्वर्ण पदक जितेका छन्। आइतबार भएको १० किलोमिटरको क्रस कन्ट्रीमा निमेशले स्वर्ण जितेका अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका थिए।

विश्वका विभिन्न देशका पुलिस र आर्मीका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाएपनि नेपाली पासपोर्ट भएकाले उनको परिचय नेपाल नै उल्लेख छ। उनले जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको हाफ म्याराथन (२१.५ किलोमिटर) मा पनि स्वर्ण जितेका थिए।

क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो र आयोजक चीनको खेलाडी तेस्रो भए। निमेशले दुई वर्षअघि अमेरिकाको लसएन्जलसमा भएको वल्ड पुलिस फायर गेम्समा पनि यी दुबै विधामा स्वर्ण पदक जितेका थिए। प्रतियोगितामा उनले आगामी आइतबार १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गर्ने छन्।

सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश सिंगापुरको घरेलु प्रतियोगितामा स्थापित धावक हुन्। सिंगापुरमा हुने प्रायः प्रतिस्पर्धा जितिसकेका उनले राष्ट्रिय च्याम्पियन खेलाडीलाई समेत नियमित रुपमा पराजित गर्दै आइरहेका छन्।

जानकारी तथा लेखहरु