फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युतीय सवारीमा बैंकको ८० प्रतिशतसम्म कर्जा

(GMT+08:00) 2019-08-12 15:23:31

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण विस्तारै बढ्दैछ। इन्धन नचाहिने र वातावरणलाई हानी नपुर्‍याउने भएकाले विद्युतीय सवारी साधनलाई सरकारले पनि प्रोत्साहन गर्न खोजेको अनलाइन खबरले लेखेको छ।

देशको व्यापार घाटा न्यूनीकरण गर्ने हिसाबले पनि सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन खोजेको हो। गत आर्थिक वर्षमा मुलुकको कूल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा माथि भयो। यसमा इन्धनको हिस्सा मात्रै तीन खर्ब रुपैयाँ हाराहारीमा छ।

इन्धनबाट चल्ने सवारीसाधनहरुमा बैंकहरुले ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने प्रावधान बनाएको राष्ट्र बैंकले विद्युतीय सवारीसाधनहरुलाई भने ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्ययवस्था गरेको छ। सरकारी तबरबाटै लचिलो नीति आएपछि यतिबेला वाणिज्य बैंकहरुले समेत विद्युतीय सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा आकर्षक अफरहरु ल्याउँदैछन्।

केही बैंकहरुले विद्युतीय सवारी साधनका लागि धेरै फाइनान्स सुविधा र सस्तो व्याजरदरको घोषणासमेत गरेका छन्। अन्य बैंकहरुले पनि विद्युतीय सवारीसाधन कर्जालाई प्राथमिकतामा राखेको बताउँछन्।

मुलुकको पहिलो ज्वाइन्ट भेञ्चर (संयुक्त लगानी रहेको) बैंक नबिलले विद्युतबाट चल्ने सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा सहुलियत दिने घोषणा गरेको छ। यस्ता सवारी साधनहरु चढ्न कर्जा चाहनेहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने नबिलले जनाएको छ।

यसरी उपलब्ध गराउने कर्जाको ब्याजदर पनि सस्तो छ। धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा १२ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन्। तर विद्युतीय सवारी कर्जा लिनेलाई नबिलले जम्मा ९.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ।

नबिलजस्तै लक्ष्मी बैंकले पनि विद्युतीय सवारीसाधन कर्जाका लागि आफ्नो अफर सार्वजनिक गरेको छ। विद्युतीय सवारी साधनका लागि फाइनान्स सुविधा दिन सकिने अधिकतम सीमा यस बैंकले पनि ८० प्रतिशत नै तोकेको छ।

इनधनबाट चल्ने सवारीसाधनमा ६५ प्रतिशत फाइनान्स सुविधा दिने यो बैंकले विद्युतीयमा ९ वर्षसम्मका लागि अधिकतम ८० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बताएको छ।

ग्लोबल आइएमई, एनआईसी एसियालगायतका बैंकले पनि यस्तो कर्जालाई प्राथमिकतामा राखेका छन्। ग्लोबल आइएमई बैंकका सूचना अधिकारी सुरेन्द्रराज अधिकारीका अनुसार सो बैंकले यसअघि विश्व वातावरण दिवसकै अवसरमा विद्युतीय गाडीका लागि अफर ल्याएको थियो। अहिले यस्ता सवारीसाधन लिन चाहनेहरुका लागि राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार ८० प्रतिशतसम्म कर्जा दिने उहाँले बताउनुभयो।

व्यापार विस्तारमा निकै आक्रामक बनेको एनआइसी एसिया बैंकले पनि विद्युतीय सवारी साधनको कर्जामा केही सहुलियतहरु ल्याएको छ। बैंकले ८० प्रतिशत फाइनान्सको सुविधामा ८ वर्षदेखि १५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ। व्यक्तिको आम्दानीको ७५ प्रतिशतसम्म कर्जा दिन सकिने बैंकको व्यवस्था रहेको पनि उहाँले सुनाउनुभयो।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन बैंकर एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष अनिल केशरी शाह विद्युतीय सवारीसाधन आजको आवश्यकता भएको बताउनुहुन्छ। सञ्चालन खर्च कम हुने भएकाले पनि विद्युतीय सवारीसाधन चढ्न उहाँको सुझाव छ। अर्थतन्त्र र वातावरणका कारण पनि विद्युतीय सवारी नेपालमा अबको रोजाइ बन्नुपर्ने उहाँको धारणा छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका साहले यही विषयलाई मध्यनजर गर्दै नबिलले विद्युतीय सवारीका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा र ९.५ प्रतिशत ब्याजदरमा कर्जा दिन लागेको बताउनुभयो।

'व्यापारघाटा बढेको बढ्यै छ, इन्धन आयात कम हुने हो भने ब्यापारघाटा अवश्य घट्छ' साहले भन्नुभयो, 'धुवाधुलोको पीडाबाट मुक्त हुन र मुलुकको अर्थतन्त्रका लागि पनि विद्युतीय सवारी साधनको प्रयोग बढ्नु पर्छ।'

जानकारी तथा लेखहरु