फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४२ प्रतिशत काम सम्पन्न

(GMT+08:00) 2019-08-13 14:53:43

गत असार मसान्तसम्ममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ४२ प्रतिशत काम सकिएको छ। तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिले काम गरिरहेको अयोजना प्रमुख विनेश मुनकर्मीले बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ। आयोजनाका अनुसार विमानस्थलको धावनमार्गको ढलानको सबै काम सकिएको छ। आयोजना प्रमुख मुनकर्मीले साइड सम्याउने काम पनि सकिएको बताउनुभयो। एप्रोन निर्माण, जहाज पार्किङ गर्ने स्थल निर्माणको काम सकिएको छ। टर्मिनल विल्डिङ, हेंगर विल्डिङ, कार्गो, एटिसीलगायतका अन्य गरी झन्डै दर्जन भवन निर्माण कार्य एकैसाथ चलिरहेको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्टक्चरको कामसमेत सम्पन्न भएको छ।

११ जुलाई २०१७ मा निर्माण सुरु भएको यस विमानस्थल १० जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विमानस्थल निर्माणको काम धमाधम अघि बढ्दै गर्दा केही हवाई सेवाप्रदायक कम्पनीले यस विमानस्थलमा आफ्ना लागि पूर्वाधार बनाउन चासो बढाएका छन्। बुद्ध एयर, हिमालयन एयर र एउटा चिनियाँ विमान उडान कम्पनीले हेंगरलगायतका पूर्वाधार बनाउने चासो राखेको अयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए। बुद्ध एयरले विमानस्थल सम्पन्न हुनासाथ आफ्नो नियमित ११ उडान गर्ने जनाइसकेको छ। त्यस्तै अन्य निजी हवाई उडान कम्पनीहरूले समेत चासो राखेका छन्।

विमानस्थलको प्रधानमन्त्री केपी ओलीले १ वैशाख ०७३ मा सिलान्यास गरेका थिए। त्यसअघि उनकै चीन भ्रमणका वेला ८ चैतमा विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो। विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सर्त छ।

विमानस्थल निर्माणको शिलान्यास १ वैशाख ०७३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत उपस्थितिमा शिलान्यास गर्नु भएको थियो। चिनियाँ एक्जिम बैंकले नागरिक उड्डयन प्राधिकरणले एयरपोर्टको सबै आम्दानी धरौटी राख्नुपर्ने कडा सर्त राखेका कारण ऋण स्वीकृत हुन ढिलाई भएको तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो। जसका कारण एक वर्ष निर्माण ढिलो हुन पुगेको थियो। पछि ऋण प्रवाहमा केही लचिलो प्रणाली अपनाएका कारण ऋण स्वीकृति भयो र एक वर्ष ढिला गरी निर्माण थालनी भएको हो।

गेजुवालगायत अधिकांश चिनियाँ कम्पनी नेपालमा ठेक्का सम्झौता गर्ने तर समयमा काम गर्न नसक्ने लिस्टमा छन्। जसका कारण नेपालमा चिनियाँ ठेकेदार कम्पनी बदनाम हुन सक्ने खतरा बढाइदिएको छ। यस्तो अवस्थामा चीनले नेपालमा समयमा काम सम्पन्न गरेर राम्रो सन्देश दिन पनि यस विमानस्थलको काम समयमा सक्ने गरी काम गर्ने विश्वास नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताउनुभयो। एक्जिम बैंक खोलेका सबै देशले हाम्रोजस्तो मुलुकमा आफ्नो सर्तबमोजिम काम गराउने गरेको र आफ्नै देशका ठकेदारले समेत निर्माण जिम्मा लिने भएकाले निर्माणको कामले तीव्रता पाउने अपेक्षा उहाँको छ।'यस आयोजना समयमा सम्पन्न गरेर राम्रो सन्देश दिनका लागि पनि चिनियाँ ठेकेदार कम्पनीहरूले तदारुकता साथ काम गर्लान् भन्ने अनुमान हामीले गरेका छौँ,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु