फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई सबैभन्दा धेरै सहयोग गर्ने राष्ट्रमा चीन चौथो स्थानमा

(GMT+08:00) 2019-08-14 14:07:43

सन् २०११/१२ देखि २०१७/०१८ सम्म चीनले नेपाललाई २७ करोड ७१ लाख डलर (३० अर्ब ४८ करोड ४४ लाख रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराएको छ। सात वर्षमा वार्षिक औसत चार अर्ब ३५ करोड रुपैयाँका दरले चीनले नेपालमा सहयोग गर्दै आएको नयाँ पत्रिका अनलाइनले लेखेको छ। तथ्यांकअनुसार चीनले सन् २०११/१२ मा दुई करोड ८३ लाख, २०१२/०१३ मा दुई करोड ४१ लाख, २०१३/०१४ मा चार करोड १४ लाख, २०१४/०१५ मा तीन करोड ८० लाख, २०१५/०१६ मा तीन करोड ५३ लाख, २०१६/०१७ मा चार करोड १३ लाख र २०१७/०१८ मा पाँच करोड ८७ लाख अमेरिकी डलर सहयोग दिएको छ। २०१७/०१८ मा नेपाललाई सबैभन्दा बढी आर्थिक सहायता प्रदान गर्ने राष्ट्रको सूचीमा चीन चौथो नम्बरमा पर्छ।

चीनबाट प्राप्त आर्थिक सहायताको ठूलो हिस्सा नेपालमा भूकम्पपछिको पुनर्निर्माण, भौतिक पूर्वाधार निर्माण र सुरक्षा निकायको क्षमता अभिवृद्धि शीर्षकमा खर्च भइरहेको छ। चीनले लगानी गरिरहेका ठूला पूर्वाधार निर्माण आयोजनामा काठमाडौं चक्रपथ विस्तार आयोजना, स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना, माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माण र प्रसारण लाइन विस्तार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पर्छन्।

यस्तै, चीनले भूकम्पपछिको पुनर्निर्माणमा २५ वटा आयोजनाका लागि प्रतिबद्धता जनाएको थियो। त्यसमध्ये करिब ५० प्रतिशत आयोजना चीनले सम्पन्न गरिसकेको पुनर्निर्माण प्राधिकरण विकास सहायता महाशाखाका उपसचिव दिव्य पोखरेलले बताए। प्रतिबद्धता जनाएका बाँकी ५० प्रतिशतमध्ये केही निर्माणको चरणमा रहेको र केही सुरु नै नभएको पोखरेलको भनाइ छ। उनका अनुसार नेपाली पक्षले काम गर्ने वातावरण बनाउन नसक्दा केही परियोजना सुरु हुन सकेका छैनन्। पुनर्निर्माणअन्तर्गत तातोपानी सुक्खा बन्दरगाह निर्माण र अरनिको राजमार्ग मर्मत, वसन्तपुर दरबार स्क्वायर पुनर्निर्माण, नुवाकोट दरबार, दरबार हाईस्कुललगायत आयोजनाको पुनर्निर्माणका काम चीनले गरिरहेको छ।

जानकारी तथा लेखहरु