फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन

(GMT+08:00) 2019-08-19 13:36:45
करिब दुई दशकको अवधिमा निजी क्षेत्रको लगानीमा नेपालमा पाँच सय ६० मेगावाट बिजुली उत्पादन भएको छ। राष्ट्रिय प्रसारण लाइनमा निजी क्षेत्रका ८३ वटा आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख छ। निजी लगानीमा २०५७ असारदेखि हिमाल पावरले उत्पादन गरेको खिम्तिखोला जलविद्युत् आयोजनादेखि गत वैशाखबाट राष्ट्रिय प्रसारणमा जोडिएको साल्मानीदेवी हाइड्रोपावरको कपादी गाडसम्मको बिजुली उत्पादन सुरु भएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

निजी क्षेत्रका एक सय २० वटा आयोजना निर्माणाधीन छन्। त्यसबाट २६ सय १३ मेगावाट बिजुली उत्पादन हुनेछ। आर्थिक स्रोतको जोहो भइसकेका यस्ता आयोजना निजी ऊर्जा उत्पादबाट निर्माण भइरहेका र धमाधम अगाडि बढिरहेका छन्। निजी क्षेत्रले निर्माण घोषणा गरेका र विभिन्न चरणमा रहेका एक सय ३७ वटा आयोजनाबाट २८ सय ६९ मेगावाट बिजुली उत्पादन हुने तथ्यांक छ।

विद्युत् प्राधिकरणको आइतबार राजधानीमा सम्पन्न ३४ औं वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणलाई अन्य सरकारी संस्थानको तुलनामा अब्बल बनाउने उद्घोष गर्नुभयो।

विद्युत् उत्पादन बढेपछि अब आयात पनि कम हुँदै जाने र आगामी दुई वर्षमा नेपाल पूर्णरूपमा विद्युत्मा निर्भर हुनेछ। त्यसपछि हरेक क्षेत्रले मागेजति बिजुली दिन सकिने पनि पुनको भनाइ छ।ऊर्जा सचिव दिनेशकुमार घिमिरेले विद्युतको खपत बढाउनु अबको प्रमुख चुनौती भएको बताउनुभयो।

जानकारी तथा लेखहरु