फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन जोड्ने रसुवागढी नाकाको स्तरोन्नति गरिँदै

(GMT+08:00) 2019-08-19 13:38:28

चीन जोड्ने रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले तीन अर्ब ५७ करोड रुपैयाँको स्वीकृति मागेकामा मन्त्रालयले दुई अर्ब ६१ करोडको मात्रै स्वीकृति दिएको छ। १६ किलोमिटरको डबल पिच गर्नका लागि यो बजेट पर्याप्त नभएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो। आगामी मंसिरमा ठेक्का सम्झौता हुनेछ। सम्झौता भएको तीन वर्षभित्र स्तरोन्नतिको काम सकिने लक्ष्य राखिएको छ।

यसैबीच गल्छी मैलुङ सडक खण्डको आधा काम सकिएको छ। योजनाका अनुसार हालसम्म यो खण्डको ५० प्रतिशत भौतिक प्रगति भएको छ। गल्छीदेखि मैलुङसम्म पिचको काम रोकिएको छ। अहिले सडकमा कटिङ गर्ने, नाला बनाउने र वाल लगाउने काम भइरहेको छ। सडक खण्डअन्तर्गत नुवाकोटतर्फ जग्गाको मूल्य निर्धारण गरिएको भए पनि मुआब्जा वितरण गर्न बाँकी छ।

स्याफ्रु रसुवागढी सडक खण्डको जग्गाको लगत लिने कार्य सुरु भएको छ। चीन सरकारले आगामी अक्टोबरदेखि सडकको स्तरोन्नतिको काम सुरु गर्ने भएकाले लगत लिने काम सुरु गरिएको हो। लगत संकलन गरेपछि सडक खण्डमा पर्र्ने भौतिक संरचनाहरू हटाउन सुरु गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो। चिनियाँ टोली आउनुअघि विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घरटहरा हटाउने काम सम्पन्न गर्नुपर्ने नागरिकन्यूज डटकमले जनाएको छ।

यसका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको नेतृत्वमा लाङटाङ राष्ट्रिय निकुञ्ज, मालपोत कार्यालय, नापी कार्यालय, सम्बन्धित गाउँपालिका र सहरी विकास तथा भवन निर्माण सब–डिभिजन कार्यालयले काम सुरु गरेका छन्।

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

तियान्जिन म्युनिसिपल इन्जिनियरिङ डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट चाइनाले सडक स्तरोन्नति गर्ने जिम्मा पाएको छ। उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको मैलुङ स्याफ्रु सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आव ०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना ०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

जानकारी तथा लेखहरु