फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि पुनः सिंगापुर प्रस्थान

(GMT+08:00) 2019-08-23 14:45:07
प्रधानमन्त्री केपी शर्मा ओली उपचार गराएर फर्केको डेढ सातापछि बिहीबार पुनः सिंगापुर जानुभएको छ। शरीरमा केही बढी मात्रामा देखिएको 'मिर्गौलासम्बन्धी एन्टिबडी' को उपचारका लागि उहाँ जानुभएको हो। सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार हुनेछ । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाहका अनुसार शरीरबाट एन्टिबडीलाई निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन लागिएको छ। 'अघिल्लो पटक एसएनयूमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो, त्यसैक्रममा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो', शाहले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी औपचारिक जानकारी सार्वजनिक गर्दै भन्नुभयो।

सिंगापुरमा नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्नेछन्। यसअघि गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य परीक्षण भएको थियो। थाहा भएअनुसार एन्टिबडीले प्रत्यारोपित मिर्गौला (फरेन बडी भएकाले) मा आक्रमण गर्न थालेको छ । जति बढी एन्टिबडी उत्पादन हुन्छ, त्यति नै मिर्गौलामा क्षति पुग्छ। कान्तिपुर अनलाइनका अनुसार प्लाज्मा फेरोसिसअन्तर्गत डायलाइसिसजस्तै रगत झिकेर र रगतको प्लाज्मा भएको एन्टिबडी झिकेर यसको सट्टा अर्को प्लाज्मा हालिन्छ ।

एन्टिबडी उत्पादन घटाउनुका साथै त्यसलाई शरीरबाट निकाल्ने प्रक्रिया पूरा गरेपछिमिर्गौला पहिलेकै स्थितिमा फर्किए हाल प्रधानमन्त्रीमा देखिएको शारीरिक समस्यासमाधान हुन्छ । विभिन्न अध्ययनका अनुसार प्लाज्मा फेरोसिस प्रक्रियामा करिब ६० प्रतिशतसम्म स्वास्थ्यलाभ भएको देखिएको छ। प्लाज्मा फेरोसिस उपचार प्रक्रिया नेपालमा पनि छ ।

यसैबीच पत्रकार सम्मेलन गर्दै ओलीका अर्का निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौलामा क्रिटिनाइनको मात्रा थोरै बढेको देखिएको र मिर्गौला प्रत्यारोपणको धेरै वर्षपश्चात देखिने एन्टिबडिज समस्याको सूक्ष्म परीक्षण हुने बताउनुभयो।

मिर्गौला प्रत्यारोपणपश्चात देखिने एन्टिबडिज अर्थात् रोग प्रतिरोधात्मक क्षमता घट्ने समस्याको उपचारका लागि नेपालमा चिकित्सक र उपकरण भए पनि प्रधानमन्त्रीको अब्बल उपचारमा कुनै कसर नछोड्ने उद्देश्यले ओलीलाई सिंगापुर लगिएको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु