फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

(GMT+08:00) 2019-09-11 14:38:29

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ। दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडाले सिक्का सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा मन्त्री डा. खतिवडाले भन्नुभयो, "सय वर्ष पुगेपछि सम्पदाको रुपमा लिइन्छ, त्यसैले सत्यमोहन जिवित सम्पदा हुन्। जिवित इतिहास हुन्।

" मन्त्री डा.खतिवडाले राष्ट्र बैंकको नोट तथा सिक्का निस्कासनमा संस्कृतिविद् जोशीले लामो समयसम्म योगदान पुर्याउनुभएको चर्चा गर्दै त्यसको सम्मान स्वरुप पनि सिक्का निस्कासन भएको बताउनुभयो। कार्यक्रममा सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सिक्का निस्कासन र सत्यमोहन जोशीको योगदान बारे चर्चा गर्नुभएको थियो।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार, जोशीको तस्वीर अंकित सिक्का दुई हजार पाँच सय र एक हजार दरको २५ हजार थान र एक सय रुपियाँ दरको १० हजार थान निस्कासन भएको जानकारी दिनुभयो। नेपालको सिक्का निस्कासनको इतिहासमा प्रायः राजाको तस्वीर अंकित वा वन्यजन्तु, सांस्कृतिक तथा प्राकृतिक सम्पदा या विशेष दिवसको स्मरणका रुपमा सिक्का निस्कासन हुने गरेको छ।

सिक्का निस्कासनको शृङ्खलामा आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमानपछि तेस्रो व्यक्तिका रुपमा जोशीको सिक्का निस्कासन भएको हो। यसअघि, शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित २० ग्राम चाँदीको सिक्का न्हुज गुठीले समेत सार्वजनिक गरेको थियो। यस्तै, राष्ट्र बैंकले २०७२ सालमा सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताव्दीको अवसर दुई हजार रुपैयाँको चाँदीको सिक्का निस्कासन गरेको थियो।

सिक्काको एकापट्टी गणेशमान सिंहको तस्वीर अंकित र अर्कोतिर सगरमाथाको तस्वीर रहेको थियो। राष्ट्र बैंकले २०४१ सालदेखि नियमित सिक्कासँगै स्मरण सिक्का निस्कासन थालेको हो। महालेखा परीक्षक रजत जयन्ती २०४१ मा २५ रुपियाँ दरको सिल्भर को सिक्का प्रकाशन गरी स्मराण् सिक्का निस्कासन थालेको हो।

 

जानकारी तथा लेखहरु