फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकासको पहिलो सर्त पूर्वाधार भएको उपराष्ट्रपतिको भनाई

(GMT+08:00) 2019-09-12 14:19:06

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पहिलो सर्त पूर्वाधार विकास रहेको बताउनुभएको छ। नेपाल सरकार र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गरेको दुईदिने तेस्रो पूर्वाधार सम्मेलनलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले विगतका सात दशक राजनीतिक परिवर्तनमै व्यतीत भएको स्मरण गर्नुभयो। उहाँले अब मुलुक आर्थिक समृद्धिको मूल एजेन्डा पूरा गर्न लागिपरेको बताउनुभयो ।

मुलुकले कृषि, पर्यटन, जलविद्युत् उद्योग पूर्वाधारको तीव्र विकासबाट समृद्धि चाहेको उहाँले स्पष्ट पार्नुभयो । "विश्वकै उदाहरणीय संविधानले देशमा सङ्घीयता, गणतन्त्र, समावेशी शासन व्यवस्था सुरक्षित गरेको छ", उहाँले भन्नुभयो, "अब दिगो विकास, आर्थिक तथा सामाजिक रूपान्तरण हाम्रो आवश्यकता हो । "

मुलुकको अर्थतन्त्र प्रगतिशील दिशामा अगाडि बढिरहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले निजी क्षेत्रको र वैदेशिक लगानीबाट समृद्धिले अझै गति लिनुपर्ने बताउनुभयो। "हामीले ७.१ प्रतिशतको आर्थिक वृद्धि गर्न सकेका छौं, १५औँ योजनामा दोहोरो अङ्कको वृद्धि हासिल गर्ने लक्ष्य लिएका छौं", उहाँले थप्नुभयो, "दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र तथा वैदेशिक लगानीबाट ६० प्रतिशत योगदान हुने गरी समृद्धिको सपना साकार पार्नेछ। "

गोरखापत्र अनलाइनका अनुसार नेपालको निजी क्षेत्र तथा विदेशी लगानीका लागि नेपालमा उपयुक्त अवसर सिर्जना भएको र त्यसलाई सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो। "नेपाल लगानीको उर्वर र 'भर्जिन ल्यान्ड' हो । निजी क्षेत्रले विदेशी लगानी ल्याउन भूमिका खेलेर लगानीमैत्री वातावरणको उच्चतम उपयोग गर्नुपर्छ", उहाँले भन्नुभयो ।

सम्मेलन उद्घाटनमा उपस्थित हुन नसक्नुभएका प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देशमार्फत नेपालको समृद्धि अभियानमा निसङ्कोच सहभागी हुन निजी क्षेत्र तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको थियो । "समृद्धिको लक्ष्य पूरा गर्न सरकारको लगानीले मात्र पुग्दैन, निजी क्षेत्रले यसको चालकको भूमिका निर्वाह गरेर पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ", प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पढ्नुभएको सन्देशमा भनिएको छ, "निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार सँधै तत्पर छ । "

कार्यक्रमलाई सम्बोधन गर्दै कोरियाका पूर्वप्रधानमन्त्री डा. हाङ सुङ सोले भूकम्प, प्राकृतिक प्र्रकोपको सामना गर्दै नेपालले हासिल गरेको आर्थिक वृद्धिको प्रशंसा गर्नुभयो । उहाँले सडक सञ्जाल, विद्युत्, सञ्चारजस्ता कनेक्टिभिटीबाट ग्रामीण क्षेत्रलाई विकसित गर्नुपर्ने सुझाव दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलस्रोत, ऊर्जा, सडक, रेल, सहरी विकासजस्ता पूर्वाधार विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढेको जानकारी गराउनुभयो। उहाँले अबको पाँच वर्षमा पन्ध्र हजार किलोमिटर राजमार्ग र दस वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बनाउने लक्ष्य रहेको स्पष्ट गर्नुभयो।

भारतका शक्ति वैकल्पिक ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले बिहार प्रदेशले पछिल्ला वर्षमा हासिल गरेको प्रगतिको अनुभव सुनाउँदै राज्यले उपयुक्त वातावरण निर्माण गरेमा नगदको कहिल्यै अभाव नहुने र लगानीकर्ता नाफा कमाउन स्वतः आकर्षित हुने धारणा राख्नुभयो । विश्व बैङ्कका उपाध्यक्ष जिङ डोङ हुवाले नेपाल भूपरिवेष्टित भए पनि 'आइडिया लक्ड' नभएको भन्दै बोन्डमार्फत विदेशी पुँजी आकर्षित गर्न सुझाव दिनुभयो।

जानकारी तथा लेखहरु