फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरद् ऋतुमा ११ वटा हिमाल आरोहणका लागि ४४ देशका आरोहीलाई अनुमति

(GMT+08:00) 2019-09-12 14:21:00

शरद् ऋतु (असोज, कात्तिक) मा ११ वटा हिमाल आरोहणका लागि ४४ देशका ३ सय ३९ जना आरोहीले अनुमति लिएका छन् । डाँफे सेल, धौलागिरि, गौगिरि, हिम्लुङ, सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, नुप्त्से, पाङबोचे (पाङ फुँच) र सारिबुङका लागि पर्यटकले आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।

सगरमाथामा दुई समूहका १० आरोही र मनास्लु आरोहणका लागि २५ समूहका २ सय ५० आरोहीले अनुमति लिएका छन् । धौलागिरिका लागि ३० र ल्होत्सेका लागि १३ जनाले अनुमति लिएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल वसन्त ऋतुको तुलनामा शरद् ऋतुमा आरोहण गर्न कठिन हुन्छ ।

आठ हजार मिटर आसपासका हिमाल आरोहणका लागि भने यो मौसम उपयुक्त भएको नेपाल माउन्टेन एकेडेमीका आरोहण प्रशिक्षक छिरिङजाङबु शेर्पाले जानकारी दिए । 'यो सिजनमा दिनदिनै चिसोको मात्रा बढ्छ,' उहाँले भन्नुभयो, 'त्यसैले सगरमाथा आरोहण निकै कठिन हुन्छ तर मनास्लु, धौलागिरिजस्ता हिमालका लागि सबैभन्दा उपयुक्त सिजनका रूपमा यसलाई लिइन्छ ।'

शरद् ऋतुमा सगरमाथा आरोहण अनुमति लिने १० मध्ये अमेरिकाका ४, पोल्यान्डका ४, बेलायतका १ र स्पेनका १ जना छन् । ९ वर्षदेखि शरद् ऋतुमा सगरमाथा आरोहणको अनुमति कसैले लिएका थिएनन् । यस वर्ष एकै पटक १० जनाले अनुमति लिएका हुन् । उनीहरूमध्येबाटै केहीले ल्होत्सेसमेत आरोहण गर्ने कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु