फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा काम गर्न चाहने सीमावर्ती हुम्लाका ३५ सय नेपालीलाई प्रवेश पास

(GMT+08:00) 2019-09-13 13:58:00

छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरुले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएको छ।

यो नाका हिमपातका कारण वर्षमा छ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः हिल्सा नाका खुल्छ। अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरु दैनिक सीमा पास लिन आउने गरेको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो। छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन्। जिल्लाका अन्य सर्केगाड गाउँपालिका र नाम्खा गाउँपालिकाका युवाले पनि जिल्ला प्रशासनबाट सीमा पास बढी बनाएका सहायक प्रजिअ पोखरेलले बताउनुभयो।

हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रुपमा त्यसतर्फ जाने गरेको सिमकोट गाउँपालिका–२ निवासी उपेश भण्डारीले जानकारी दिनुभयो। हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा रोजगारीका लागि यहाँका युवा जाने गरेका छन्। हुम्लाका नागरिकहरू बर्सेनि यसरी नै रोजगारीका लागि चीन जाने गर्छन्। हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा १०० देखि १८० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका उजिर बोहराले जानकारी दिनुभयो। हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रुपैयाँ कमाउने गर्छन्।

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्य स्थलका रूपमा परिचित हुँदै आएको छ। हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन्। हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन्।

गोरखापत्र अनलाइनका अनुसार हुम्लीले मैदा, खाद्यपदार्थ लगायतका सामग्री मनग्य आयात गर्दै आएका छन्। धेरै पहिले कमाईका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्षअगाडि देखि चीन प्रमुख आयस्रोत स्थल बन्दै गएको छ। गत वर्ष ताक्लाकोटमा काम गरेबापत प्रतिव्यक्ति १०० देखि २५० चिनियाँ युवान दिएपछि यस वर्ष कामका लागि ताक्लाकोट जाने बेरोजगार हुम्लीको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने जिल्ला प्रशासन हुम्लाले जनाएको छ।

जानकारी तथा लेखहरु