फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्ष २०२० मा नेपालले ५० अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने

(GMT+08:00) 2019-09-14 14:11:05

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपालले चालु आर्थिक वर्षभित्र करिब ५० अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने भएको छ । संसारभर चर्चित ट्राभल शोहरुमा उपस्थिति जनाएर नेपालको प्रवर्द्धन गरिने पर्यटन बोर्डका अधिकारी बताउँछन्।

नियमित पर्यटक आइरहेका मुख्य स्रोत बजारमा हुने यस्ता इभेन्टले अन्तर्राष्ट्रिय व्यवसायीमाझ नेपाल एक विश्वासिलो गन्तव्य स्थलका रुपमा स्थापित हुने अधिकारीहरुको भनाइ छ। यस्ता इभेन्टले नयाँ तथा पुराना व्यवसायीबीच सम्पर्क स्थापित गराउने र उपभोक्ता लक्षित पर्यटकीय ब्राण्डिङमा सहयोग पुग्ने उनीहरुको विश्वास छ।

बोर्डले भ्रमण वर्षलाई लक्षित गरी करिब ३५ करोड रुपैयाँ बजेट खर्च गर्दैछ । त्यसमध्ये १० करोड नगद सचिवालयलाई दिने र २५ करोड प्रवर्द्धनात्मक कार्यक्रममा खर्च गर्ने योजना बोर्डले बनाएको छ ।

यूरोप-अमेरिका अन्तर्गत इटाली, क्यानडा, लण्डन, अष्ट्रिया, नेदरल्याण्ड्स, स्पेन, टर्की, जर्मनी, ग्रिस, रसिया, अमेरिका लगायतका देशमा पुगेर भाग लिने कार्यक्रम छ। यस्तै एसिया तथा ओशिनियामा सिंगापुर, काजकिस्तान, इजरायल, मलेसिया, दुबई) छ भने उत्तर पूर्वी एसियामा केओटीएफए (दक्षिण कोरिया), जाटा (जापान), सीआईटीएम (चीन), सीओटीटीएम (चीन), आईटीई (हङकङ), आईटीबी (सांघाई, चीन), जीआईटीएफ (क्वाङ्चौ, चीन) रहेका छन्।

त्यस्तै दक्षिण एसियाली कार्यक्रमहरूमा टीटीएफ (अहमदावाद, भारत), जयपुर ट्राभल बजार (भारत), साट्टे (भारत), टीटीएफ (बैङ्लौर, भारत), टीटीएफ (चेन्नई भारत), टीटीएफ एण्ड ओटीएम (मुम्बई, भारत), डीटीएम (बंगलादेश), बीटीटीएफ (बंगलादेश), नेपाल सेल्स मिसन (उत्तर-भारत), नेपाल सेल्स मिसन (मध्य तथा पश्चिम भारत), नेपाल सेल्स मिसन (पश्चिम भारत), नेपाल सेल्स मिसन (बंगलादेश) रहेका अनलाइनखबरले जनाएको छ।

यसैबीच हरेक अन्तर्राष्ट्रिय कार्यक्रममा विदेशस्थित नेपाली कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सहयोग लिने योजना बोर्ड तथा भ्रमण वर्ष सचिवालयको छ। भ्रमण वर्ष अवधिभर हरेक मुलुकमा नेपाल डेस्क स्थापना गरी नेपालबारे बुझ्न चाहने पर्यटकलाई जानकारी गराउने तयारी छ। यसका लागि स्वयंसेवक उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टसँग आग्रह गर्नुभएको छ।

यस्तै भ्रमण वर्षमा मुलुकभित्र छिटो नेपालबारे प्रचार होस् भनी एसिया प्यासिफिक मिडिया कन्फ्रेन्स आयोजना गर्ने तयारी भइरहेको छ। एसिया प्यासिफिक क्षेत्रका सञ्चारकर्मीलाई नेपालमा बोलाएर मिडिया समिट आयोजना गर्न लागिएको बोर्डले जानकारी दिएको छ। भ्रमण वर्षलाई नै लक्षित गरी नेपालभित्र रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपालका विभिन्न गन्तव्यमा घुमाइने भएको छ। उनीहरुमार्फत पनि नेपालको प्रवर्द्धन हुने भन्दै भ्रमण वर्षको अवसरमा कूटनीतिज्ञहरुलाई भ्रमणको चाँजोपाजो मिलाउन लागिएको हो। यस वर्ष बीबीसी, सीएनएनजस्ता ठूला सञ्चारमाध्यमबाट विश्वव्यापी रुपमा प्रचार-प्रसार गरिने तथा चीन र भारतका विभिन्न सञ्चारमाध्यमसँग पनि सहकार्यको योजना बनाइएको छ।

जानकारी तथा लेखहरु