फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङमा पर्यटकीय चहलपहल, दिनमै १२ उडान

(GMT+08:00) 2019-09-15 16:23:11

बर्खायामले सुस्ताएको मुस्ताङको पर्यटन व्यवसाय भदौलगत्तै लयमा फर्किएको छ। दैनिक हवाई तथा सडकमार्ग हुँदै मुस्ताङ आउने स्वदेशी र विदेशी पर्यटकले सदरमुकाम जोमसोम गुल्जार बनेको अन्नपूर्णपोस्टले लेखेको छ।

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार भदौको सुरुदेखि हवाई उडान संख्या वृद्धि भएको छ। कार्यालय प्रमुख भानुभक्त कोइरालाले बर्खामा सरदर ५ उडान हुने गरेकोमा केही दिनयता दैनिक १२ उडानसम्म भएको जानकारी दिए। पोखरादेखि हवाई सेवामार्फत जोमसोम आउनेमा ७० प्रतिशत भारतीय, २५ प्रतिशत तेस्रो मुलुकका र ५ प्रतिशत स्वदेशी पर्यटक रहेको उनले जानकारी दिए। पोखराबाट जोमसोम दैनिक २ सयभन्दा बढी विदेशी पर्यटक आउने गरेको कार्यालय प्रमुख कोइरालाको भनाइ छ।

अगस्ट सकिएलगत्तै मुस्ताङको हावापानी सन्तुलित रहन्छ। गर्मी र जाडो दुवै हुँदैन। त्यस्तो मौसममा स्वदेशी तथा विदेशी दुवैथरी पर्यटक यहाँ आउँछन्। सोह्र श्राद्ध, दसैं र तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा आन्तरिक पर्यटक बढेको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए। अबको केही दिनमै विदेशी पर्यटकको अलावा स्वदेशी पर्यटकले मुस्ताङका होटल भरिभराउ हुने उनले जनाए।

सन् २०१९ जनवरीदेखि सेप्टेम्बर ११ तारिखसम्म ३१ हजार ६ सय ६६ पर्यटक मुस्ताङ भित्रिएका अन्नपूर्ण संरक्षण आयोजना एक्याप जोमसोमले जनाएको छ। तर, उल्लिखित तथ्यांकमा राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आउने विदेशी पर्यटकको संख्या समावेश नभएको कार्यालयका अधिकारी बताउँछन्।

कार्यालय प्रमुख तुलसी दाहालका अनुसार यस वर्ष २६ हजार ८ सय ५७ भारतीय पर्यटक र ४ हजार ८ सय ९ विदेशी पर्यटक रहेको बताए। एक्याप जोमसोमका अनुसार सन् २०१८ मा ५९ हजार ३ सय ३८ पर्यटक मुस्ताङ आएकोमा ३३ हजार १ सय ५९ भारतीय र २६ हजार ६ सय ७९ विदेशी पर्यटक छन्। मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ९८ राष्ट्रको भएको कार्यालय प्रमुख दाहाल बताउँछन्।

सेप्टेम्बरसम्म १ हजार ८ सय ५६ विदेशी पर्यटकले उपल्लो मुस्ताङको आएका छन्। सन् २०१८ मा जम्मा ३ हजार ९ सय ४६ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए। एक्यापले उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा वृद्धि नभएको तर राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्या भने बढेको एक्यापले उल्लेख गरेको छ। सन् २०१८ मा १ हजार २ सय ६९ विदेशी पर्यटकमात्र मुस्ताङ प्रवेश गरेको मा यस वर्षको सेप्टेम्बरसम्म ६ हजार ३ सय २६ पर्यटक मुस्ताङ आएका एक्यापले जनाएको छ।

जानकारी तथा लेखहरु