फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीच विकासका लागि समान रणनीति लिनुपर्ने विज्ञहरूको सुझाव

(GMT+08:00) 2019-09-17 16:44:33
अन्तर्राष्ट्रिय मामिला र नेपाल–चीन सम्बन्धबारेका चिनियाँ विज्ञहरूले एउटै हिमालको पानी पिउने दुई छिमेकीबीच विकास र समुन्नतिका समान रणनीति पहिल्याउन जरुरी रहेको बताएका छन् । सेन्टर फर साउथ एसियन स्टडिजले सोमबार राजधानीमा आयोजना गरेको नेपाल–चीन सम्बन्धबारेको अन्तरसंवादमा सांघाई अन्तर्राष्ट्रिय अध्ययन संस्थाका अध्यक्ष डा. चन तोङसियाओले विश्व बजारमा रहेको औद्योगिक अर्थतन्त्र बिस्तारै 'डिजिटल इकोनमी' मा रूपान्तरण हुँदै गएको बताउनुभयो।

'सधैं चल्दै आएको पश्चिमा नियम र मान्यता बिस्तारै खस्कँदै गएको छ,' कूटनीतिक वृत्तमा थिंक–ट्यांकका रूपमा चिनिएका चनले भन्नुभयो, 'अबको समय ग्लोबल रूपमै आधुनिकीकरणतर्फ गइरहेको छ, बदलिँदो समय र अवस्थालाई आत्मसात् गरेर नेपाल–चीन छिमेकको सम्बन्ध तथा परस्पर सहयोग केन्द्रित हुनुपर्छ।'

चिनियाँ कूटनीतिज्ञ लिउ युफाले हिमालयले जोडेको दुई छिमेकी नेपाल–चीनलाई 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) ले आउने दिनमा परस्पर सहयोगका मामलामा राजनीतिक मार्गनिर्देशन दिन सक्ने मन्तव्य राख्नुभयो। 'अब नेपाललाई ल्यान्ड लक्ड (भूपरिवेष्टित) भनेर चिन्ने होइन, छिमेकीसँग 'ल्यान्ड लिंक्ड' का रूपमा चिनिनु अर्थपूर्ण हुनेछ,' पूर्वराजदूतसमेत रहेका उहाँले भन्नुभयो। स्टडिजका प्रमुख डा. निश्चलनाथ पाण्डेले काठमाडौंको रिङरोड र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि हाल निर्माणाधीन काठमाडौं विमानस्थल विस्तार तथा पोखरा र भैरहवा विमानस्थलमा पनि चिनियाँ दक्ष जनशक्ति काममा जुटेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु