फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै पर्यटकको संख्यामा पनि वृद्धि

(GMT+08:00) 2019-09-17 16:45:28

बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ। विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हुँदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो।

छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ। निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो। "निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन्। बाघ देखिएका कारण पर्यटक आउनेक्रम बढेको छ", बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भन्नुभयो ।

उहाँका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हँुदै गएपछि बाघको सङ्ख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताउनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार निकुञ्जमा पछिल्लो तीन आर्थिक वर्षमा २०० वन्यजन्तु मारिएका छन्। यसैबीच वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन्।

जानकारी तथा लेखहरु