फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेश्रो मुलुक व्यापारका लागि भारतद्वारा नेपाललाई थप सुहलियत

(GMT+08:00) 2019-09-18 16:59:39
कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर 'ड्युटी इन्स्योरेन्स' (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।

'लामो समयको पहल र विभिन्न चरणको छलफलपछि यो सफलता प्राप्त भएको हो,' कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भन्नुभयो, 'यसको लागि भारतीय भन्सार र पहलमा साथ दिने सबैलाई हामीले धन्यवाद दिनुपर्छ।'

यसअघि बिमांक रकमको प्रतिसय भारतीय रुपैयाँ बराबर ३० पैसा बिमा शुल्क लाग्ने गरेको थियो। अब ३० पैसाको ठाउँमा पाँच पैसामात्र लाग्नेछ। कोलकाता भन्सारको यो निर्णयले नेपाली कार्गोमा बिमाको खर्च घट्ने आयातकर्ताले बताएका छन्।

ड्युटी इन्स्योरेन्समा लाग्ने शुल्क मात्र घटेको छैन, कोलकातास्थित भारतीय भन्सारले बिमा नियमलाई खुकुलो बनाउँदै निजी बिमा कम्पनीबाट सेवा लिन पाउने व्यवस्था गरेको छ। तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा यसअघि त्यहाँको एक सरकारी बिमा कम्पनीबाट मात्र बिमा सेवा लिन पाउने प्रावधान रहेकोमा बन्दरगाह भन्सारले सेप्टेम्बर १२ देखि अन्य बिमा कम्पनीसँग पनि सेवा लिन पाउने बनाएको हो।

नगारिकन्यूज डटकमका अनुसार यससँगै कोलकाता बन्दरगाहमा सरकारी बिमा संस्थान 'नेसनल इन्सुरेन्स कम्पनी लिमिटेड'को एकाधिकार भंग भएको छ।

कोलकाता र हल्दियाबाट नेपालका लागि रेल र सडकमार्गबाट आउने कार्गोमा यसअघि नेसनललाई मात्र बिमाको अधिकार थियो। भन्सारको पछिल्लो निर्णयले नेपाली कार्गोको बिमा प्रक्रिया सहज हुने नेपाली महावाणिज्यदूत अर्यालले बताउनुभयो। बिमा कम्पनीबीच प्रतिस्पर्धा भएपछि त्यसबाट नेपाललाई फाइदा हुनेछ।

नेपाल उद्योग वाणिज्य महासंघ स्थल यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बिमामा गरिएको पछिल्लो सुधारलाई सकारात्मक भन्नुभयो। 'पहिलेदेखि सेवा दिरहेको कम्पनी त छँदैछ, टेमानीले भने, 'एउटा कम्पनीको एकाधिकार हटाएर अन्यलाई प्रतिस्पर्धा खुला गरिएपछि स्वाभाविक रुपमा फाइदा हुन्छ।' नयाँ व्यवस्थापछि नेपाली आयातकर्ताले आफूले रोजेको भारतीय बिमा कम्पनीबाट कार्गोको बिमा गराउन सक्ने भएका छन्। र, खर्च दर पनि अब ३० पैसाको ठाउँमा अब पाँच पैसामात्र लाग्ने भएको छ।

जानकारी तथा लेखहरु