फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षणमा सी चिनफिङ पथबारे सिकाइने

(GMT+08:00) 2019-09-19 18:07:41
नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई 'सी चिनफिङ पथ' बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताउनुभयो। सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् ।

शनिबार नेपाल पुग्ने चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरूको वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुने नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताउनुभयो। पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन पेस हुनेछन् ।

पौडेलले सम्मेलनको एउटा कुनै सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सम्मेलनमा पार्टीका दुई अध्यक्षसहित केन्द्रीय तहका २ सय जनासम्म नेतालाई सहभागी गराउने तयारी स्कुल विभागको छ । कान्तिपुर अनलाइनका अनुसार सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु र सहभागिताबारे छलफल गर्न बुधबार विभाग प्रमुख पोखरेल तथा उपप्रमुखहरू बेदुराम भुसाल र पौडेलबीच छलफल भएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि बनेको स्कुल विभागको पहिलो कक्षामै चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र सैद्धान्तिक कार्यदिशाबारे छलफल हुन लागेको हो। चिनियाँ कम्युनिस्ट पार्टी धेरै अनुशासित हुने भएकाले त्यसको कार्यशैली यहाँ पनि उपयोगी हुने ठानेर सी चिनफिङ पथबारे प्रशिक्षण हुन लागेको नेताहरूले बताए ।

दुई वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले नयाँ युगका लागि चिनियाँ समाजवाद भनेर सीको विचारधारालाई पारित गरेको थियो । राष्ट्रपति सीको सिद्धान्तले चीनमा मार्क्सवादको विकासक्रम, गरिबी निवारण र भ्रष्टाचार उन्मूलन, चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय पहुँच र तल्लो तहसम्म आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने कुराको व्याख्या गरेको छ । पार्टी विधानमै राजनीतिक विचारधारा र नाम उल्लेख गराउन सफल भएपछि सीलाई चीनका गणतन्त्रवादी नेताहरू माओत्सेतुङ र तङ स्याउफिङको हाराहारीका नेताका रूपमा चित्रण गरिन्छ ।

नेकपाको यो सम्मेलनमा सी–पथबाहेक पार्टीको आधिकारिक राजनीतिक लाइन र दस्ताबेजका विषयमा पनि प्रशिक्षण हुनेछ । एकीकरण भएको करिब एक वर्षसम्म विवाद भएपछि नेकपाले बल्ल पार्टीको आधिकारिक राजनीतिक दस्ताबेज प्रकाशनमा ल्याएको छ । राजनीतिक कार्यदिशा के हुने भन्ने विषयमै शीर्ष तहबीच मतान्तर भएपछि एक वर्षसम्म राजनीतिक दस्ताबेजलाई अन्तिम रूप दिइएको थिएन । करिब दुई महिनाअघि राजनीतिक दस्ताबेजमा शीर्ष नेताहरूबीच सहमति भएर प्रकाशनमा आए पनि नेकपाको तल्लो निकायमा अहिलेसम्म छलफल भएको छैन ।

जानकारी तथा लेखहरु