फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रमण वर्षमा विदेशी पर्यटक आकर्षित गर्न काठमाडौंलाई कलात्मक सहर बनाइँदै

(GMT+08:00) 2019-09-21 15:54:45
भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन प्रवद्र्धनमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने सरकारी लक्ष्य छ । सोहीअनुसार व्यापक प्रचारप्रसारमा रहेको भिजिट नेपाल २०२० सफल बनाउन उपत्यकालाई सुन्दर कला नगरी बनाउने नेतृत्व भने काठमाडौँ महानगरपालिकाले पाएको छ ।

सरकारी योजनाअनुसार धेरैभन्दा धेरै विदेशी पर्यटकलाई उपत्यकामा बास बसाउन, मौलिक आकर्षण दिन नेपाली कला संस्कृतिको प्रत्यक्ष उजागर गर्न खोजिएको काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्नकै लागि उपत्यकाका १० स्थानमा सुन्दर पार्क निर्माणका लागिसमेत सम्झौता भएर काम अघि बढेको छ ।

महानगरसँगको सम्झौतामा आधारित रहेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले गठित निर्देशक समितिले पहिलो चरणमा तीन महिनाभित्र काठमाडौँ महानगरपालिकालाई कलात्मक नगरी बनाउने गृहकार्य सुरु गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

"अब काठमाडौँका चोकचोकमा नेपाल चिनाउने कलाको सिर्जना गरिनेछ," उहाँले भन्नुभयो, "ठूलाठूला मूर्ति र चित्रसँगै नेपाल अभिव्यक्त गरिनेछ ।"

परम्परागत धारका ठूला मूर्ति र ठूला चित्र निर्माणका लागि कलाकार छनोट गरी काम गरिने उहाँले बताउनुभयो । जसका लागि प्रतियोगिता नै गराउने वा आवेदन लिने भन्नेबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल चिनाउने ऐतिहासिक व्यक्तित्वका ठूला मूर्ति ठाउँठाउँमा राखिनेछ । नेपालको मौलिक कला मानिने पौभाचित्र ठूलाठूला आकारमा भित्ताहरूमा कोरिनेछ । उहाँका अनुसार पुराना कलात्मक नगरलाई समेत पुनर्जागृत गर्न प्रयास गरिनेछ ।

पहिलो चरणमा ठूला मूर्ति, चित्र र पुराना संरचनालाई मौलिकता भर्ने काम गरिनेछ । दोस्रो चरणमा सिङ्गै उपत्यकालाई कलात्मक नगर बनाउन थप पूर्वाधारसहितका नयाँ संरचनासमेत निर्माण गरी अगाडि बढ्ने योजना रहेको

उहाँले बताउनुभयो ।

सहरी विकास आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार काठमाडौँलाई स्मार्ट सिटीसँगै कलात्मक नगरीमा रूपान्तरण गर्ने अभियान नै सुरु भएको जानकारी दिनुभयो । आधुनिकतासँगै यहाँको मौलिक कला लोप हुन नदिन यसरी सहकार्य गरेर अगाडि बढेको उहाँले बताउनुभयो ।

जानकारी तथा लेखहरु