फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्ने तयारी

(GMT+08:00) 2019-09-21 15:55:11
सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसंध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालिएको छ। तर भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धरासयी हुने निजि सञ्चालकहरूको चिन्ता छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेस गर्न पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरिएको छ। विदेशी नागरिकलाई नेपालीसरह भाडा समायोजनका लागि सुझाव पेस गर्न गठित समितिलाई एक महिनाको समय दिइएको छ। समितिले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने र आन्तरिक भाडा दरमा आन्तरिक र बाह्य पर्यटकलाई फरक–फरक भाडा लिने गरेकोमा त्यसमा एकरूपता ल्याउनेबारे सुझाव दिनेछ। तर भाडामा एकरूपता ल्याउनेबारे निजी विमानसेवा कम्पनीहरू भने असहमत रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

हुन लागेको भाडा समायोजनबारे जिज्ञासा राख्दा सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यले सरकारले समायोजनभन्दा पनि पुनरावलोकनमा ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्रालयले समायोजन गर्नुभन्दा पहिले मेन पावरको (इन्जिनियर तथा पाइलट) को खर्च, इन्सुरेन्सको खर्चलगायत ध्यान दिएर भाडा पुनरावलोकन गर्नुपर्ने उहाँको सुझाव छ।

हाल नेपाल एयरलायन्सका जहाजलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध लागाइएको छ । युरोपियन युनियनले नेपाल एयरलाइन्सलाई यसरी कालो सूचीमा राख्नुको कारणमध्ये एउटा नेपाली र विदेशीलाई फरक–फरक भाडा दर हुनुलाई पनि मानिएको छ। यस विषयमा यदि प्रतिबन्ध फुकुवाका लागि आफूहरूले पहल गर्नुपर्छ भने नेपाली र विदेशीलाई भाडा बराबर पारी समायोजन गर्न नेपालस्थित कुटनीतिक नियोगका विदेशी कर्मचारीले सरकारी संयन्त्रलाई दबाब दिँदै आएको बताइन्छ।

तर युरोपको कालोसूचीबाट नेपाललाई हटाउन विदेशीलाई पनि नेपालीसरह भाडा दर कायम गर्नुपर्ने तर्कका पछाडि कुनै तुक नरहेको सरोकारवालाहरूको भनाइ छ । संसारका धेरै देशमा विदेशी नागरिकलाई हवाईक्षेत्रमा बेग्लै भाडाको नियम रहेको बताउनुहुन्छ, नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा। स्वदेशी र विदेशीलाई एकै प्रकारको भाडा कायम गर्दा मुलुकले धान्न सक्ने÷नसक्नेबारे अध्ययन नै नगरी मन्त्री भट्टराईले समायोजनका निम्ति समिति गठन गरेको उहाँको गुनासो छ । अनुमानित खर्चमा सञ्चालन नाफा राखी प्रत्येक नेपाली गन्तव्यहरूमा विभिन्न ठाँउबाट उडेर पुग्दा लाग्ने समयका आधारमा भाडा तोक्नुपर्ने उहाँको तर्क छ।

यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले समायोजन समितिले एउटै भाडादर कायम गर्ने विषयमा उचित निर्णय लिनेमा विमान सञ्चालक कम्पनीहरू आशावादी रहेको बताउनुभयो।

श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले विदेशी र हाम्रो जिडिपी (कुल गार्हस्थ उत्पादन) नै फरक रहेकाले सरकारले उक्त कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु